मंसिर १३ गते २०८०
02:58: PM
मंसिर १३ गते २०८०
02:58: PM

शिक्षामा आमूल परिवर्तनका लागि सरोकारवालाको भूमिका बस्नेत

असार ५ गते २०८०
11:30 PM
Author Avatar
सन्तोष सुनार

बुद्धबहादुर बस्नेत 

प्युठान । मुलुकको समृद्धिको चित्र त्यो देशको शिक्षाको गुणस्तरले कोर्दछ । सभ्यताको साँचो पनि शिक्षाले खोल्दछ । बिकासको खाँचो पनि शिक्षाले नै पहिल्याउँछ । समाजको आवश्यकताबोध पनि शिक्षाले गर्दछ । बैयत्तिक खुशि र सुखका बाटाहरु तर्फ शिक्षालेनै डोर्‍याउँदछ ।

अव प्रश्न उठछ कसका लागि शिक्षा ? यो नितान्त राष्ट्रका लागि, समाजका लागि र विषेश गरी ती अवोध बालबालिकाका लागि हो । बालबालिकाहरु पूर्ण रुपमा निर्दोष हुन्छन, उनीहरुको कुनै दोष हुँदैन । तर हाम्रो शैक्षिक प्रणालीले तिनिहरुलाई अन्याय त गरिरहेको छैन ? यस विषयमा गम्भिर भएर सवैले सोच्न जरुरी छ । शैक्षिक प्रणाली भित्र के के पर्दछन यसका अङ्गहरु के के हुन ? ती अङ्गहरुले कसरी काम गरिरहेका छन भन्ने बिषय महत्वपूर्ण मानिन्छ राज्यसंग कस्तो जनशक्ति कति उत्पादन गर्ने भन्ने स्पष्ट खाका हुनु पर्दछ । सामान्य भाषामा भन्नु पर्दा प्रत्येक पाँच बर्षमा कति बैज्ञानिक, कति शिक्षक, कति डाक्टर, कति ईन्जिनियर, कति साहित्यकार, कति कलाकार आदि बिभिन्न विधाका जनशक्तिको उत्पादन गरी राज्यका सवै क्षेत्र र अङ्गहरुमा दक्ष जनशक्तिको परिपुर्ती गर्ने र सवैलाई सेवामा जोडने योजना राज्यले गर्नु पर्दछ र सवैलाई श्रम बजारको व्यवस्था गर्नु पर्दछ ।

तथापि, दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य थलो विद्यालय र उत्पादनकर्ताको रुपमा शिक्षक हुन । अव यस विषयमा चर्चा गरौै । सवै भन्दा पहिले विद्यालय र विद्यालय प्रशासनको, हाम्रा विद्यालयहरुले समय, प्रविधि र सूचना सञ्चारको तीव्र विकासको गतिलाई समेटन सकेका छन कि छैनन्, हाम्रो सोँच, चिन्तन र हाम्रो सेवा प्रवाह सोही अनुसार भएको छ कि छैन भन्ने प्रश्न छ । भौतिक हिसावले विद्यालयको गुणस्तरमा सुधार आएको छ । विद्यालय भवन कक्षा कोठा पक्कै पनि आधुनिक भैसकेका छन् तर शैक्षिक गतिविधि प्रविधिमैत्री भने नभई सकेको अवस्था छ । यो सवैकुरा हुँदाहुँदै पनि शैक्षिक सुधारको मुख्य केन्द्र भने शिक्षक नै हो । एउटा अशल शिक्षकले चाहेमा उसले विद्यार्थीको अन्तरनिहित प्रतिभा पहिचान गरी उ भित्र रहेको क्षमतालाई बाहिर ल्याउन सक्दछ । त्यसका लागि शिक्षकको ध्यान, चिन्तन, अध्ययन अनुसन्धानको केन्द्र मात्र विद्यार्थी हुनु पर्दछ । शिक्षकले आफ्नो दायित्व दक्ष जनशक्ति उत्पान गर्नु बाहेक अरु बुझनु हुँदैन । बालबालिका सम्वेदनशिल क्षेत्र हुन यस क्षेत्रमा काम गर्ने जो कोही पनि सम्बेनशिल हुनु पर्दछ भन्ने कुरामा कसैको दुई मत छैन ।

भनिन्छ नि ‘जग बलियो भए घर बलियो हुन्छ’ ठीक त्यस्तै शिक्षा राम्रो भए मुलुक त्यसै राम्रो हुन्छ । तसर्थ: एउटा कुशल शिक्षक र कुशल कालिगढ एकै हुन जसलाई काँचो माटो दिएको हुन्छ त्यही माटो कुशल कालिगढको हातले सुन्दर मुर्ति बन्न जान्छ भने कुशल शिक्षकको हातमा परेको विद्यार्थीले देशको अभिभारा बोक्न सक्दछ । त्यही भोलिको अभिभारा बोक्न सक्ने योग्य तथा दक्ष जनशक्ति उत्पादन गर्नु मेरो जिम्मेवारी हो भन्ने विषयलाई गम्भिरताका साथ बोध गर्न आवश्यक छ ।

तपाँई शिक्षकहरुबाट यो मुलुकको शिक्षामा आमूल परिवर्तन सम्भव छ भन्ने विश्वास अभिभावकमा जीवितै छ । त्यो विश्वास अझ चुलिदै जानेछ । पछिल्लो समय नेपालमा शिक्षाको खोजिमा दक्ष जनशक्ति पलायन भईरहेको अवस्था छ । कक्षा बाह्र सकेपछि विद्यार्थीहरु पचास साठी लाख तिरेर अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायत विश्वका विकसित मुलुक तिर आकर्शित छन । हाम्रो देशको लागि यो अत्यन्तै दुखद गम्भिर र सोँचनीय विषय हो । यसले गर्दा युवा पलायन भयो, मुलुकको पैसा बाहिरियो र दक्ष जनशक्ति विदेश पलायन भई मुलुकमा दक्ष जनशक्तिको अभाव सिर्जना भयो । यहाँ त केबल बृद्ध, बृद्धा र बालबालिका मात्र रहने अवस्था सिर्जना भयो बृद्ध, बृद्धा र बालबाललिका भनेको राज्यले लगानी गर्ने मात्र हुन ।

जव युवा दक्ष हुन्छ र मुलुकलाई प्रतिफल दिने अवस्थामा बाहिर जान्छ भने सोच्नुहोस देशको अवस्था के होला ? मुलुक कता जाला ? यो बिषयले आम नेपालीलाई पिरोली रहेको छ । जहाँ र जसलाई सोध्नुहोस पढाईमा अब्बल सन्तान धेरै पैसा बोकेर सम्पन्न मुलुतिर हिँडेको छ भने पढाईमा औषत विद्यार्थी दलाललाई पैसा खुवाएर श्रम बेच्न पचास डिग्री तातो घाम लाग्ने मुलुक रोज्दैछन । यसरी उच्च तथा मध्यमखालका जनशक्ति मुलुकमा नबसेपछि राज्यले कस्का लागि के योजना बनाउँदैछ ? नीति निर्माणको तहमा पुगेकाहरुको चस्माको पावरले के देख्दै छ ? र कस्तो र कस्का लागि कागजमा योजना कोर्देछन ? अहिलेको मुख्य प्रश्न हो यो । तसर्थ, हाम्रा विद्यालयहरुले यो वास्तविकतालाई बोध गरी शिक्षालाई विषयवस्तु केन्द्रित मात्र नभई राष्ट्र र राष्ट्रियता प्रति केन्द्रित भई बालबालिकाहरुमा म को हुँ ? राष्ट्र के हो ? मेरो मुलुक प्रतिको दायित्व के हो ? जस्ता यावत विषयलाई उठान गरी व्यवहारिक शिक्षा दिनुपर्ने अहिलेको टडकारो आवश्यकता देखिन्छ ।

यसका साथै उच्च शिक्षाको नाममा विदेश पलाएन हुनबाट रोक्न ‘कमाउदै पढ्दै’को नीति अवलम्वन गरी उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई कम्तिमा दिनको चार घण्टा आंशिक जागिरको अनिवार्य व्यवस्था गरी श्रमसंग जोडेर अघि बढन सके मात्र हाम्रो जनशक्तिले मुलकको विकासको गति समाउला अन्यथा धेरै पैसाको लोभमा विदेशिने प्रबृतिको बिकास हुनेछ । यसलाई रोक्न सरकारले ठोस योजना बनाई शैक्षिक बेरोजगार भएका हाम्रा जनशक्तिमा नयाँ उत्साह पैदा गरी स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाउन जरुरी छ ।

(लेखक बस्नेत नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य हुन ।)

रिप्लाई गर्नुहोस

You cannot copy content of this page