समय : ०३:४२ am | सोमबार , मंसिर २३ गते २०८१

भेटिएकी प्रिन्सा,उब्जिएका आशंका र चुनौतीहरु

स्वर्गद्वारी अपडेट | चैत्र २३ गते २०८०

अधिबक्ता माधवा सुबेदी

आजको ब्यस्त  समाजमा सबैको सूचना प्राप्त गर्ने ,सहयोग लिने दिने ,आत्मियता ,सद्भाव,आक्रोस ,प्यार र घृणा ब्यक्त गर्ने माध्यम नै सामाजिक सञ्जाल  बनेको छ । चाहे त्यो फेस बुक, युट्युव, भाईवर आदी ईत्यादी किन नहोस्। विज्ञानका विभिन्न आविस्कारहरु मध्ये धरै मानिसहरुको पहुचको विषय भनेको सञ्चारको माध्यम फोन र ईन्टरनेट हो । यो सुविधाको प्रयोग आजकल अत्यधिक मानिसहरुले गर्ने गर्दछन् । त्यसैले सामाजिक सञ्जालमा आजकल धेरै किसिमका सुचनाहरु पाउन सकिन्छ। सामाजिक सञ्जालमा पार्ईएको एउटा सूचना जुन मिति २०८० साल माघ १७ गते बुधबार ब्यापक रुपमा प्रसारण भयो । जसले सबैको मनमा एक किसिमको चाँसो उत्पन्न गरायो । जसमा भनिएको थियो प्यूठान जिल्लाको जुम्री बजार स्थित होटल आयुष्माको नजिकै रहेको घरको बाख्राको खोरको झोलुङ्गोमा भर्खरै जन्मिएको नवजात शिशु वालिका वेवारिसे अवस्थामा भेटिएको हुँदा उद्दार गरि जिल्ला अस्पत्ताल विजुवारमा संरक्षण गरिएको छ । यो समाचारले सबैको मनमा एक किसिमको तर∙ पैदा गरिदियो । यसरी बच्चा लाई जन्म दिएर छाड्ने आमा (जसलाई धेरैले पापीनी आमा भने ) को होला ? किन छाडेर हिडेको होला ? त्यसरी फाल्नेले किन जन्माएको होला ? त्यस्ती आमाको खोज तलासी गरि कानूनको दायरामा ल्याई सजाय दिनु पर्दछ भन्ने थुप्रै किसिमका धारणा गालि गलौज आए । कतिले त एउटी चरित्रहिन आईमाईले आफ्नो मोजमस्ती गरि जन्माएर छाडीहोला भने तर जो जसले जे जे भने पनि सबैको पहिलो घृणाको पात्र तिनै महिला बनिन  जसले शिशुलाई जन्म दिएर अलपत्र छाडेर हिडिन ।

 साँच्चिकै सरसर्ति हेदा ती महिला घृणाको पात्र हुन् जसले एउटा अवोध शिशुलाई जन्म दिएर निर्ममतापुर्वक छाडेर गईन। यदि त्यहाँबाट तत्काल उद्धार हुन नसकेको भए बच्चाको ज्यान जान पनि सक्दथ्यो । तर जे होस् धन्य भगवानको कृपाले त्यस्तो अप्रिय घटनाहुन पाएन । शिशुको जिवन रक्षाको लागि समयमै प्रह्रीलाई खवर गर्ने ब्यक्ति ,उद्धारमा खटिने प्रह्री कर्मचारीहरु,जिल्ला अस्पत्ताल विजुवार प्यूठानमा डक्टर ,नर्सहरु लगायत खटिएका अन्य कर्मचारीहरु साथै अन्य सहयोगी माहानुभावहरु सबै धन्यवादका पात्रहुन । जसले एउटा अवोध शिशुको लागि आ आफ्नो तहबाट मानवीय धर्म निर्वाह गर्नु भयो । मातृवात्सल्य प्रेम दर्शाउनुभयो । उहाँहरुको यो माहान कार्यलाई मुक्त कण्ठले प्रशंसा गर्नु पर्ने विषय बनेको छ र गरिएको पनि छ ।

 एकातर्फ त्यो निर्दोष शिशुको तस्विर अर्को तर्फ स्याहारमा खटिनुभएका जिल्ला अस्पत्ताल प्यूठानका कर्मचारीहरुको प्रेम ,लगावका साथै समय समयमा मिडियाहरुले गरेको बच्चाको बारेमा सोधखोज तथा जानकारी यी सबै कुराहरुले बच्चा प्रति सबैको मनमा एक किसिमको माया,प्रेम उत्पन्न गरिरहेको हुन्थ्यो । सबैको मनमा यो बच्चाको आमा बुवा पत्ता लाग्लाकी नलाग्ला,यदि पत्ता नलागे कसले अभिभावकत्व ग्रहण गर्ला भन्ने प्रश्नहरु आउथे । सबैको हृदयमा बस्न सफल भएकी थिईन ती अवोध शिशु । प्यूठान नगरपालिकाले आफ्नो कर्तब्य निर्वाह्को सिलसिलामा बच्चाको हक दावी गर्न आउने सूचना प्रकाशित गयो । तोकिएको समयमा हकदाबी नपरेपछि अभिभावकत्व ग्रहण गर्न ईच्छुक ब्यक्तिहरुबाट तोकिएको मापदण्ड पुरा गरि दर्खास्त आह्वान गरे पश्चात सम्पूर्ण कानूनी प्रकृया पुरा गरि एक सक्षम निःसन्तान दम्पत्तिको काखँमा मिति २०८० साल चैत्र १९ गते जिल्ला अदालत प्यूठान मार्फत हस्तान्तरण गरियो ।

यो कार्यलयका तर्फ एउटा अवोध बालिकाले  स्थायी रुपमा अभिभावक पाईन भने एउटा निःसन्तान दम्पत्तिको काँख भरियो । यो त बच्चा फेला परे देखिको अभिभावकत्व ग्रहण गर्दा सँम्मको प्रकृया ।  यो बाहेक जिल्ला अस्पत्तालमा गरिएको नानीको सामाजिक संस्कार छैटी , नामाकरण ले एउटा बच्चा जसको जन्म र हुर्काई अरु बच्चाहरुको भन्दा भिन्न भए पनि अरु फरकपन महशुस गर्न परेन ।  पुनः सलाम छ उक्त कार्यको लागि जिल्ला अस्पत्ताल विजुवारको टिमलाई । यी र यस्ता कार्यले श्री स्वस्थानी परमेश्वरीको ब्रत कथाको श्लोक अपुत्रा पौत्रिण सन्तु, पौत्रिण सँन्तु पौत्रिण, निर्धना साधना सन्तु जिवन्तु श्रद्धामा सतम् को भावार्थले पूर्णता पाएको भान गराउदछ ।

 अर्को तर्फ नानीको जन्मलाई हेर्दा कसरी एउटी आमाले अवोध शिशुलाई जन्म दिएर अलपत्र पारेर छाडिन त ? के साँच्चै उनी कठोर र निर्दयी आमा हुन् ? या त उनी कुनै गम्भिर समस्यामा परेर त्यसको प्रतिवाद गर्न नसकि शिशुलाई कसैले उद्धार गरोस र राज्यले जिम्मा लियोस भनि छाडेर हिडेकी हुन् । एउटा पशुपंक्षीले त आफ्नो सन्तान प्रति मातृवात्सल्य प्रेम दर्शाउछ भने एउटी नारी ममताकी खानी भनिएकीले कसरी र किन फरार भईन ? के साँच्चै उनी निर्दयी नै हुन त  यो त भयो आमाको बारेमा समाजले सोच्ने ,राख्ने तर्क विर्तक तथा प्रश्नहरु । तर विडम्बना यहि समाजले एउटी नारीलाई गर्भवती तुल्याएर बच्चा जन्माउन बाद्यपारी गुमनाम रहेको कुनै पुरुष प्रति त्यति साह्रो टिका टिप्पणी तथा आक्रोस र घृणा ब्यक्त गरेको पाईएन जति आमाको बारेमा  भयो । के साँच्चै एउटा पुरुषको स्वार्थ र गैर जिम्मेवारी पन प्रति त्यत्ति कै खवरदारी गर्नु पर्ने थिएन र  कि पुरुष प्रधान समाजले पुरुषलाई छुट दिएको छ र ? यी र यस्ता विषयहरु निकै चोटिला र विडम्वनायुक्त विषय बस्तु हुन ।

यस्ता कार्यले हाम्रो समाज कता तिर गई रहेको छ । समाजमा कस्ता प्रकारका विकृति र विसंगतिहरु देखापर्न थालेका छन्। यस्ता घटनाहरु घट्नुका पछाडी के कस्ता कारणहरु हुन् सक्दछन् र ती समस्याहरुले समाज र राज्यलाई कस्तो चुनौती दिएको छ । विद्यमान ऐन कानूनमा के कस्ता ब्यवस्थाहरु छन् । स्थानिय तहबाट कानूनको जानकारी तथा कानूनी उपचारको बारेमा कसरी सुसुचित गराईएको छ वा छैन यी र यस्ता विषय बस्तुहरुका बारेमा निकै गम्भिरतापुर्वक सोच्नु आवश्यक छ । प्रायः जसो हरेका घटना र दुर्घटनाहरुको प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा पहिलो शिकार महिला तथा वालवालिकाहरु हुने गर्दछन् । राज्यले उनीहरुको लागि अनिवार्य रुपमा छुट्टाउनु पर्ने बजेट के कसरी कुन शिर्षकमा खर्च गरेको छ  ती कार्यहरु साँच्चिकै उपलब्धि मुलक छन् की छैनन् । स्थानिय तहबाट सञ्चालन गरिने महिला लक्षित कार्यक्रमहरुलाई हेर्दा नारी दिवसको उपलक्ष्यमा कुर्ची दौड, घैटो फोड जस्ता कार्यक्रमहरु ग्रि मनाएको पनि देखिएकै छ ।

के यस्ता कार्यक्रमले आवश्यकतालाई परिपूर्ती गर्न टेवा दिन्छ की दिदैन । महिला र वालबालिकाका समस्याहरु नितान्त रुपमा उनीहरुका नीजि समस्या हुन् या साझा समस्या हुन् । सो सम्बन्धमा सबैले सचेत र उत्तरदायिभई सोच्नु र समयमै समाधानका उपायहरु अवलम्बन गर्नु आवश्यक छ । विकासका नाममा गरिने भौतिक विकासलाई भन्दा असहाय र असमर्थ पक्षको रक्षार्थ गर्नु पर्ने कामलाई पहिलो प्राथमिकतामा राखि समयमै समस्याहरुको दीगो रुपमा समाधानका उपायहरु खोजी गर्नु अपरिहार्य छ । महिला र वालवालिकाको विषयलाई के कस्तो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरु ल्याईएका छन् र कसरी कार्यान्वयन गरिएका छन् भन्ने सन्दर्भमा सबैले आत्मा साक्षि राखि मनन गर्नु, सोच्नु, सहयोग  र कार्यान्यन गर्नु अति आवश्यक छ । अन्यथा समाजको सर्वावाङणी  विकास हुन सक्दैन र राज्य संयन्त्रलाई नै जटिल समस्याको समाधान गर्नु पर्ने बाध्यात्मक परिस्थिति सृजना हुने देखिन्छ ।

अत्यमा बडो उत्साहका साथ शिशुको अभिभावकत्व ग्रहण गर्ने माहान दम्पत्ति ,उनीहरुका परिवारका सम्पूर्ण सदस्यहरुको उच्च विचारलाई नमन गर्दै नानीको दिर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु र भविष्यमा माहान नारी बन्न सकुन यहि मेरो आर्शिबाद छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्