प्यूठान।जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले ‘सुन्दर प्यूठान–सडक सुरक्षा अभियान’लाई तीब्र गतिमा अघि बढाएको छ।सडक दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले सो अभियान अघि बढाईएको हो।
बिहिबार अभियान अन्तर्गत कालिका माध्यमिक विद्यालयका करिब ७ सय ५० जना विद्यार्थीलाई ट्राफिक सचेतना प्रशिक्षण दिएको प्रहरी नायव निरीक्षक एवं ट्राफिक प्रहरी प्रमुख विष्णु प्रसाद न्यौपानेले बताए।उनले सडक सुरक्षा सबैको साझा दायित्व भएको बताउँदै दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले प्युठानका विभिन्न ठाउँहरुमा सो अभियान सञ्चालन गरिरहेको ट्राफिक प्रमुख न्यौपानेको भनाइ छ।
प्रशिक्षणमा विद्यार्थीलाई ट्राफिक संकेत, सडक सुरक्षा, हेल्मेट र सिटबेल्टको महत्व, जेब्राक्रसिङको प्रयोग तथा सडक अनुशासनबारे जानकारी दिइएको थियो।ट्राफिक प्रहरीले अभियानअन्तर्गत अनधिकृत रूपमा जडान गरिएका सवारीका छत, ढाला र एङ्गल हटाउने तथा ओभरलोड सवारीमाथि कारबाही गरिरहेको जनाएको छ।
यसअघि मुक्ति मावि प्युठानको २ सय ५२ र जनता माविका २ सय ९२ विद्यार्थीलाई पनि यस्तै प्रशिक्षण दिइएको ट्राफिक प्रहरीले जनाएको छ।








