समय : ०८:५२ pm | बिहिबार , असाेज २९ गते २०८३

प्युठानबाट कसले दिन्छ ओभरलोड काठ बोक्ने अनुमति?

ट्राफिकले जरिवाना काटेर पठाउँछ, वन कार्यालय भन्छ– 'कागजात हेर्ने मात्रै हो'

स्वर्गद्वारी अपडेट | असाेज २९ गते २०८३

प्युठान। प्युठानका विभिन्न सामुदायिक वनसँग समन्वय गरी काठ ठेकेदारले ट्रकमा क्षमताभन्दा बढी काठ लोड गरेर निकासी गरेको पाइएको छ।निर्धारित क्षमताभन्दा बढी काठ बोकेका ति ट्रकहरुमा   नियमन माथि प्रश्न उठेको छ।

प्रायः रातको समयमा गुड्ने  यी मालवाहक ट्रकमा क्षमताभन्दा बढी काठ लोड गरेर ओसारपसार हुने गरेको बताइएको छ।तर, यस्ता सवारीको नियमित अनुगमन र नियन्त्रण प्रभावकारी नहुँदा प्युठानमा  ओभरलोड ढुवानीले निरन्तरता पाएको देखिन्छ।

जिल्ला ट्राफिक कार्यालय प्युठानका प्रमुख विष्णुप्रसाद न्यौपानेका अनुसार ओभरलोड भएका सवारीलाई जरिवाना शुल्क काटेर पठाउने गरेको बताए।तर, जरिवाना तिराएर मात्रै सवारीलाई पठाउँदा निर्धारित क्षमताभन्दा बढी भार बोकेको समस्या समाधान हुन्छ कि हुँदैन भन्ने प्रश्न उब्जिएको छ।

सवारीको भारवहन क्षमता, सडक सुरक्षा र प्रचलित कानुनी व्यवस्थाअनुसार ओभरलोड नियन्त्रण गर्नुपर्ने भए पनि व्यवहारमा जरिवानामै सीमित भएको छ।वन डिभिजन कार्यालय प्युठानका वरिष्ठ वन अधिकृत महेन्द्रराज वाग्लेले सवारीमा ओभरलोड भए–नभएको नियमन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको भएको बताएका छन्।वन कार्यालयले काठ ढुवानीसम्बन्धी कागजात र छुटपुर्जी मात्रै जाँच गर्ने अधिकृत वाग्लेको भनाई छ।तर ति ढुवानी गरेका काठहरुमा भने अस्पस्ट नम्बर लेखिएको देखिन्छ।  

वन कार्यालयले कागजात र छुटपुर्जी हेर्ने तथा ट्राफिक प्रहरीले सवारीको भार नियमन गर्ने बताइरहँदा क्षमताभन्दा बढी काठ लोड गरेर सडकमा निकाल्ने कार्यको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि  उब्जिएको छ।

जरिवाना काटेर पठाउने अभ्यास मात्रै पर्याप्त हो कि होइन भन्ने विषयमा पनि सरोकारवाला निकायको जवाफदेहिता आवश्यक छ।

यो पनि पढ्नुहोस्