समय : ०१:४५ pm | शनिबार , असाेज १० गते २०८३

प्यूठान कांग्रेसमा अधिवेशनअघि नै नेतृत्व घोषणा, सभापति गिरीले रिजाललाई ‘उत्तराधिकारी’ बनाएपछि विवाद

स्वर्गद्वारी अपडेट | असाेज १० गते २०८३

अधिवेशनबाट नेतृत्व चयन हुन बाँकी रहेका बेला वर्तमान सभापतिले भावी सभापतिको नाम नै सार्वजनिक गरेपछि प्यूठान कांग्रेसले २ दिने झरीलाई समेत तताईदिएको छ।

प्यूठान । नेपाली कांग्रेस प्यूठानमा जिल्ला नेतृत्व चयनका लागि अधिवेशन प्रक्रिया अघि बढिरहेकै बेला वर्तमान सभापति विष्णुकुमार गिरीले भावी सभापतिको नाम सार्वजनिक गरेपछि पार्टीभित्र नयाँ बहस सुरु भएको छ।

सभापति गिरीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत शिवराज रिजालले अब कांग्रेस प्यूठानको नेतृत्व सम्हाल्ने घोषणा गरेका हुन्। पार्टीको औपचारिक अधिवेशनबाट जिल्ला सभापति चयन हुन बाँकी रहेकै अवस्थामा वर्तमान सभापतिले भावी नेतृत्वको नाम सार्वजनिक गरेपछि यो विषयले जिल्लाको कांग्रेस राजनीतिमा चर्चा पाएको हो।

गिरीले विज्ञप्तिमा आफूलाई नेतृत्वका रूपमा सहयोग गर्ने पार्टी पंक्तिप्रति धन्यवाद दिँदै आसन्न अधिवेशनपछि रिजालले नयाँ नेतृत्वको बागडोर सम्हाल्ने उल्लेख गरेका छन्। उनले नयाँ नेतृत्वलाई पार्टीको सही गन्तव्यमा पु¥याउन सहयोग गर्नसमेत आग्रह गरेका छन्।

तर, सभापतिको घोषणालाई जिल्ला सभापतिका आकांक्षी यामलाल पुनमगरले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका छन्। गिरीको विज्ञप्तिमा प्रतिक्रिया जनाउँदै पुनमगरले ‘राजाले आफ्नो पहिलो सन्तानलाई उत्तराधिकारी घोषणा गरेझैं' गरिएको टिप्पणी गरेका छन्।

‘सभापतिज्यू जय नेपाल।राजाले आफ्नो पहिलो सन्तानलाई उत्तराधिकारी घोषणा गरे झैं गर्नु भयो,’ पुनमगरले लेखेका छन्, ‘यो अहिलेसम्मको पहिलो घटना जस्तो लाग्यो, तैपनि कुनै दुखेसो छैन।मात्र हजुरबाट यो अपेक्षा थिएन।बाँकी कार्यकर्तामा जाने बाटो खुल्ला हुने अपेक्षा गर्दछु ।'

गिरीको घोषणाले कांग्रेस प्यूठानमा अधिवेशनअघि नै नेतृत्वको समीकरणलाई थप चर्चामा ल्याएको छ।विशेषगरी सभापति पदका आकांक्षीहरू मैदानमा रहेको अवस्थामा वर्तमान सभापतिबाट एक जना नेताको नाम भावी सभापतिका रूपमा सार्वजनिक हुनुलाई कार्यकर्तामाझ बहसको विषय बनेको छ।

यसअघि १४औँ महाधिवेशनमा गिरी र रिजालबीच नै जिल्ला सभापति पदमा प्रतिस्पर्धा भएको थियो। उक्त प्रतिस्पर्धामा गिरी सभापति निर्वाचित भएका थिए। यसपटक भने गिरीले आफूपछि रिजाललाई नेतृत्व हस्तान्तरण गर्ने संकेतसहित सार्वजनिक घोषणा गरेका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले वडा तथा पालिका तहका अधिवेशन सम्पन्न भएको छ।पार्टीको निर्धारित प्रक्रियाअनुसार जिल्ला नेतृत्व चयन हुने भए पनि प्यूठानमा अधिवेशनको औपचारिक प्रक्रिया पूरा हुनुअघि नै भावी सभापतिको नाम सार्वजनिक भएपछि नेतृत्व चयनको विषय थप पेचिलो बनेको छ।

गिरीले आफ्नो विज्ञप्तिमा अधिवेशनलाई सफल बनाउन क्षेत्रीय प्रतिनिधि तथा पार्टीका विभिन्न तहका नेता–कार्यकर्तालाई सक्रियतापूर्वक लाग्न आग्रह गरेका छन्।साथै भूगोल र जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्दै पार्टीको विधानअनुसार अधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

अधिवेशनबाट नेतृत्व चयन हुन बाँकी रहेका बेला वर्तमान सभापतिले भावी सभापतिको नाम नै सार्वजनिक गरेपछि अब प्यूठान कांग्रेसमा यो घोषणा कत्तिको स्वीकार्य हुन्छ र अन्य आकांक्षी तथा प्रतिनिधिहरूको प्रतिक्रिया कस्तो रहन्छ भन्ने विषयले थप महत्व पाउने देखिएको छ।

यो पनि पढ्नुहोस्