समय : ०९:४१ am | बिहिबार , कार्तिक ६ गते २०८३

झिमरुकले एक वर्षमा फर्छ्योट गर्‍यो ६ करोड ७२ लाख बेरुजु

प्युठानका नौ स्थानीय तहमध्ये एक वर्षमै बेरुजुको ठुलो हिस्सा फर्छ्यौट गर्ने गाउँपालिका मध्ये झिमरुक गाउँपालिका पहिलो हो।

स्वर्गद्वारी अपडेट | कार्तिक ६ गते २०८३

प्यूठान। झिमरुक गाउँपालिकाले एक वर्षको अवधिमा अघिल्लो वर्षसम्म कायम रहेको ६ करोड ७२ लाख रुपैयाँ बेरुजु फर्छ्योट गरेको छ।लेखापरीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाको पुरानो बेरुजु फर्छ्योट भए पनि चालु वर्षको बेरुजुसमेत जोड्दा अद्यावधिक बेरुजु १ करोड ८० लाख १९ हजार रुपैयाँ कायम रहेको छ।

अन्तिम महालेखा परीक्षक कार्यालयको लेखापरीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८१/०८२ सम्म  गाउँपालिकामा ७ करोड ८३ लाख ५४ हजार रुपैयाँ बेरुजु कायम थियो।त्यसमध्ये ६ करोड ७२ लाख रुपैयाँ फर्छ्योट भएको उल्लेख छ।तर, चालु वर्षको लेखापरीक्षणबाट थप बेरुजु देखिएपछि कुल अद्यावधिक बेरुजु अझै कायम रहेको हो।

गाउँपालिकाको १ अर्ब ३५ करोड ९१ लाख ८० हजार रुपैयाँको आयव्यय लेखापरीक्षण गर्दा चालु वर्षमा ७६ लाख ८३ हजार रुपैयाँ बेरुजु देखिएको थियो।प्रतिवेदनमा प्रतिक्रियाबाट १३ लाख ३० हजार रुपैयाँ सम्परीक्षण भएको उल्लेख छ।साथै, ५ लाख १२ हजार रुपैयाँ थप बेरुजु देखिएको छ।

प्रतिवेदनअनुसार असुल गर्नुपर्ने १४ लाख ८६ हजार रुपैयाँ, प्रमाण कागजात पेस गर्नुपर्ने ८ लाख ८ हजार रुपैयाँ र नियमित गर्नुपर्ने ४९ लाख ७१ हजार रुपैयाँ गरी कुल ६८ लाख ६५ हजार रुपैयाँ बेरुजु बाँकी रहेको छ।

पुरानो बेरुजुको ठूलो हिस्सा फर्छ्योट गरेको देखिए पनि असुल गर्नुपर्ने रकम, प्रमाण कागजात पेस गर्नुपर्ने र नियमित गर्नुपर्ने बेरुजु अझै बाँकी रहेकाले गाउँपालिकाले त्यसको व्यवस्थापनमा थप ध्यान दिनुपर्ने देखिन्छ।

प्युठानका नौ स्थानीय तहमध्ये एक वर्षमै बेरुजुको ठुलो हिस्सा फर्छ्यौट गर्ने गाउँपालिका मध्ये झिमरुक गाउँपालिका पहिलो हो।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल र लेखा प्रमुख अरविन्द्र महत रहेका छन्।  

यो पनि पढ्नुहोस्