समय : ०९:३१ am | बुधबार , कार्तिक १९ गते २०८३

पोखरामाथि लुम्बिनीको सहज जित

स्वर्गद्वारी अपडेट | कार्तिक १९ गते २०८३

काठमाडौँ – नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबार भएको दिनको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि सहज रुपमा जित हासिल गरेको छ।

उत्कृष्ट बलिङ गर्दै पोखरालाई ९७ रनमा समेटेको लुम्बिनीले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ११.४ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ८ विकेटको जित निकाल्यो। लुम्बिनीको यो दोस्रो जित हो। एउटा खेल भने रद्द भएको थियो।

लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले ४७ रनको अविजित इनिङ्स खेल्दा निरोशन डिकवेलले २७ रन बनाएर उनलाई अविजित साथ दिए। यी दुईबाहेक डार्सी सर्टले १३ रन बनाए। पोखराको यो लगातार तेस्रो हार हो। यसअघि पोखरा सुदूरपश्चिम र जनकपुरसँग पराजित भएको थियो।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो। पोखराका लागि चमिखा करुनारत्नेले २५ रन बनाउँदा कुशल भुर्तेलले १४ रन बनाए। त्यस्तै, महेदी हसनले १३ रन बनाउँदा किरन ठगुन्नाले १२ रन बनाएका थिए। अन्यको प्रदर्शन भने गतिलो रहेन।

पोखरालाई सस्तैमा समेट्ने क्रममा रुवेन ट्रम्पेलमनले ३ विकेट लिँदा तिलक भण्डारीले २ तथा शेर मल्ल, अभिषेस गौतम र रोहित पौडेलले १-१ विकेट लिए।

यो पनि पढ्नुहोस्