समय : ०२:४४ am | आइतबार , कार्तिक १ गते २०८३

स्वर्गद्वारीमा एक करोड बढीको लागतमा सडक बत्ती जडान

सडक बत्ती जडानसँगै यसको नियमित मर्मतसम्भार पनि चुनौतीका रूपमा देखिएको छ।

लव कुमार अधिकारी | कार्तिक १ गते २०८३

प्युठान। स्वर्गद्वारी नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई लक्षित गर्दै सडक बत्ती जडान गरेको छ। नेपाल विद्युत् प्राधिकरण र नगरपालिकाको लागत साझेदारीमा सडक बत्ती जडान गरिएको हो।

बिहीबार भिंग्रीमा आयोजित कार्यक्रममा नगरप्रमुख टेकप्रसाद भण्डारीले सडक बत्तीको उद्घाटन गरेका हुन्। नगरपालिकाको वडा नम्बर ४ गोठीवाङदेखि वडा नम्बर ३ जलुकेसम्म तथा स्वर्गद्वारी जाने मुख्य प्रवेशद्वार क्षेत्रमा बत्ती जडान गरिएको छ।

वडा नम्बर ४ का वडाध्यक्ष सुवर्णराज श्रेष्ठका अनुसार सडक बत्ती जडानका लागि नेपाल विद्युत् प्राधिकरणले ६० प्रतिशत र स्वर्गद्वारी नगरपालिकाले ४० प्रतिशत रकम व्यहोरेका छन्। १ करोड ७ लाख रुपैयाँको बजेटबाट ९० वटा पोलमा बत्ती जडान गरिएको उनले बताए। प्रत्येक ३५ मिटरको दूरीमा पोल गाडेर बत्ती राखिएको श्रेष्ठको भनाइ छ।

स्वर्गद्वारी मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्री तथा पर्यटकको चाप रहने भएकाले सडक सुरक्षा र बजारको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले सडक बत्ती जडान गरिएको नगरपालिकाका सूचना अधिकारी सौन्दर्यमणि सुवेदीले बताए।

नगरप्रमुख भण्डारीले जलुके क्षेत्र, भिंग्री बजार र गोठीवाङ क्षेत्रमा सडक बत्ती उद्घाटन गरिसकिएको जानकारी दिए। सडक बत्ती सञ्चालनमा आएपछि क्याम्पस पढ्ने विद्यार्थी, स्थानीय बासिन्दा तथा तीर्थयात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको उनले बताए।

भिंग्री बजार क्षेत्रका स्थानीयले बत्ती जडानपछि लामो समयसम्म प्रभावकारी रूपमा सञ्चालन गर्न समय–समयमा मर्मत तथा उचित व्यवस्थापन आवश्यक पर्ने बताएका छन्।

सडक बत्ती जडानसँगै यसको नियमित मर्मतसम्भार पनि चुनौतीका रूपमा देखिएको छ।

यो पनि पढ्नुहोस्