समय : १०:१५ am | सोमबार , जेठ ५ गते २०८२

दाङका बालबालिकामा कुपोषणको समस्या

स्वर्गद्वारी अपडेट | श्रावण ३० गते २०८१

दाङ।दाङ जिल्लाका बलबालिकामा कडा खालको कुपोषण अझै उल्लेखनीय रूपमा कायम छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा कुपोषणको सङ्ख्या केही कम भए पनि कडा कुपोषण भने बढेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लाका १० स्थानीय तहमा रहेका २२ वटा कुपोषण बहिरङ्ग उपचार केन्द्रबाट सङ्कलन गरिएको तथ्याङ्कले पछिल्लो समयमा कडा कुपोषण बढेको देखिएको हो ।

यहाँ एक वर्षमा ६०८ जना बालबालिकामा कुपोषण देखिएको छ । जसमध्ये ४७० जना बालबालिकामा कडा खालको कुपोषण पाइएको छ भने १३८ जनामा मध्यम कुपोषण भेटिएको छ । 

आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्मको तथ्याङ्कमा कडा कुपोषण हुने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा १११ जना बालबालिकामा कडा खालको कुपोषण भेटिएको थियो भने ७८२ जनामा मध्यम खालको कुपोषण देखिएको थियो । 

आर्थिक वर्ष २०७८/७९ मा ५०४ बालबालिकामा कडा खालको कुपोषण देखिएको थियो भने ७२८ जनामा मध्यम खालको कुपोषण देखिएको थियो । आर्थिक वर्ष २०७९/८० मा पनि कडा कुपोषण घट्नै सकेको छैन । ६८० जना बालबालिकामा कुपोषण हुँदा ४१५ जनालाई कडा खालको कुपोषण भएको तथ्याङ्क छ । 

स्वास्थ्य कार्यालय दाङका पोषण फोकल पर्सन गजेन्द्र यादवले स्तनपानमा आमाले ध्यान नदिँदा बालबालिकामा कुपोषण बढेको बताए । उनले स्तनपानका फाइदाबारे ध्यान नदिँदा आमा र बच्चामा समस्या आउने बताउँदै भन्छन, “स्तन पान नगराउँदा बच्चामा कुपोषण देखिनुका साथै आमालाई स्तनमा क्यान्सर, पाठेघर क्यान्सरलगायतका धेरै समस्या देखिन सक्छन् ।” त्यससँगै स्तनपानमा आमाले ध्यान नदिँदा बालबालिकामा प्रतिरक्षा शक्ति कमजोर भएर बिरामी हुने, कुपोषित हुने समस्या बढेको छ । 

जन्मेको एक घण्टाभित्रै आमाले दुध चुसाउनुपर्ने भन्दै उनले बिगौती दुधमा सम्पूर्ण रोगसँग लड्न सक्ने शक्ति हुने पोषण फोकल पर्सन यादवले बताए । उनले भने, “हामीले दिने भ्याक्सिन कुनै एउटा रोग विशेषलाई दिन्छौँ, आमाको दुधमा सबै रोगसँग लड्न सक्ने शक्ति हुन्छ ।” छ महिनामुनिका बालबालिकालाई आमाको दुध मात्रै खुवाउनुपर्ने चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार छ महिनामुनिका बालबालिकालाई गाई भैँसीको दुध, ल्याक्टोजिनलगायत खुवाउँदा बच्चाको पाचन प्रक्रियामा समस्या हुन सक्ने भएकाले आमाको दुध नपुग्ने अवस्थामा मात्र बाहिरी खानेकुरा खुवाउनुपर्ने बताउँछन् । बालबालिकालाई पूर्ण मात्रामा दुध खुवाउने आमाको सङ्ख्या कम हुँदा कुपोषणको अवस्था बढेको पोषण फोकल पर्सन यादव बताउँछन् । 

आर्थिक वर्ष २०७७/७८ देखि आव २०८०/८१ सम्म रेकर्ड अनुसार धेरै अस्पतालमै जन्माउने भएकाले जन्मेको एक घण्टाभित्रै दुध चुसाउने बढे पनि छ महिनासम्म आमाको मात्रै दुध खुवाउने भने कम रहेको देखिन्छ । आव २०७७/७८ मा २५.२ प्रतिशत मात्रैले जन्मेको एक घण्टाभित्र आमाको दुध खुवाउने गरेका छन् । आव २०७८/७९ मा छ महिनासम्म आमाको दुध मात्र खुवाउने सङ्ख्या ६५.१ प्रतिशत  रहेको छ । आव २०७९/८० मा ६१.८ प्रतिशत र आव २०८०/८१ मा ७९.९ प्रतिशतले छ महिनासम्म आमाको दुध मात्र खुवाएको देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

यो पनि पढ्नुहोस्