अर्घाखाँची – अर्घाखाँची अस्पतालमा डायलाइसिस सेवा सञ्चालन हुने भएको छ।
सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणदेखि उपकरण जडानसम्मका काम भइरहेका छन्। सेवा सुरु भएपछि मिर्गौलाका बिरामीले आफ्नै जिल्लाबाट नियमित डायलाक्सिषस सेवा प्राप्त गर्नेछन्।
अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीका अनुसार डायलाइसिस सेवाका लागि अत्यावश्यक आरओ (रिभर्स अस्मोसिस) पानी शुद्धीकरण प्रणाली जडानको काम सुरु भइसकेको छ। सेवाको गुणस्तर सुनिश्चित गर्न आरओ प्रणाली अनिवार्य मानिने भएकाले यसको स्थापना कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए।
उनका अनुसार प्रारम्भिक चरणमा न्यूनतम मापदण्डअनुसार पाँच वटा डायलासिस मेसिन सञ्चालनमा ल्याइनेछ। आवश्यक उपकरण जडान, प्राविधिक जनशक्ति व्यवस्थापन र सेवा सञ्चालनका अन्य तयारीसमेत सँगसँगै भइरहेको छ।
हाल अर्घाखाँचीका मिर्गौलाका बिरामी नियमित डायलाइसिसका लागि बुटवल, काठमाडौँ तथा अन्य जिल्लामा पुग्न बाध्य छन्। अस्पतालमै सेवा सञ्चालन भएपछि समय र खर्च दुवै बचत हुनुका साथै उपचारमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ।
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमार्फत अर्घाखाँची अस्पतालमा डायलाइसिस सेवा विस्तारको काम अघि बढाइएको हो।








