प्यूठान। लामो समयदेखि अलपत्र अवस्थामा रहेको प्यूठान जिल्ला अस्पतालको अधुरो भवन निर्माण कार्य पुनः सुरु हुने भएको छ। अस्पताल विकास समितिको सक्रियतापछि निर्माण प्रक्रिया अघि बढाइएको हो।
अस्पताल विकास समितिको कार्यभार सम्हालेदेखि नै भवन निर्माणलाई गति दिन पहल गरिरहेको समितिका अध्यक्ष कृष्णप्रसाद बसेल (रोयल कृष्ण) ले बताए। उनका अनुसार बुधबार निर्माण कम्पनीका प्रतिनिधि, लुम्बिनी प्रदेश सहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख तथा प्राविधिक टोलीसहित निर्माणाधीन भवनको स्थलगत निरीक्षण गरिएको थियो।
निरीक्षणका क्रममा निर्माण कम्पनीले तत्कालै काम सुरु गरी करिब एक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने सहमति जनाएको अध्यक्ष बसेलले जानकारी दिए।
कार्यसम्पादन मूल्यांकनअनुसार हालसम्म भवनको करिब १५ प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न भएको छ। निर्माण कार्य अघि बढ्न नसक्दा अस्पतालको भवन करिब २ वर्षदेखि अलपत्र अवस्थामा रहेको थियो।
अध्यक्ष बसेलले अस्पतालको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर अधुरो भवन निर्माण सम्पन्न गर्न पहल भइरहेको बताए।
भवन निर्माण सम्पन्न भएपछि अस्पतालको सेवा प्रवाहमा सहजता आउने र बिरामीलाई थप प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।








