समय : ०६:२१ am | शनिबार , श्रावण १२ गते २०८१

जहाँ शिक्षकको हाजिरी विद्यार्थीले गराउँछन्

स्वर्गद्वारी अपडेट | चैत्र ७ गते २०८०

दशरथ घिमिरे

देउखुरी।बिहानको जब १० बज्न थाल्छ । विद्यार्थी र शिक्षकहरु विद्यालय क्षेत्रमा प्रवेश गर्छन्।प्रवेशद्वारमै एक जना विद्यार्थी हाजिरी रजिस्टर लिएर बस्छन् । जुन रजिस्टरमा शिक्षकले हाजिर गर्नुपर्छ । सिद्धार्थ नमूना माध्यमिक विद्यालय घोप्टेओडार रोल्पामा यसैगरी हरेक दिन विद्यार्थीले शिक्षकको हाजिर लगाउँदै आएका छन् ।

विद्यार्थीले नमूना अभ्यास थालेपछि विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन देखिएको छ । शिक्षकहरु समयमै उपस्थित हुने र नियमित कक्षा लिने गरेको विद्यार्थी खुमानन्द वलीले बताउनुभयो । ‘पहिला शिक्षकहरु समयमा नआउने, जतिखेर मन लाग्यो त्यतिखेर आउने समस्या थियो । हामीले सरहरुको हाजिरी लिन थालेपछि सर मात्रै होइन, विद्यार्थी पनि समयमा आउने गरेका छौं’– विद्यार्थी वलीले भन्नुभयो– ‘सरहरुको हाजिरी प्रवेशद्वारमा विद्यार्थीले लिन्छौं भने सरहरुले हाम्रो हाजिरी प्रार्थनाकै बेला लिनुहुन्छ ।’

विद्यार्थीले शिक्षकको अनुगमन गर्न थालेपछि विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन देखिएको छ । विद्यार्थीले शिक्षकको प्रवेशद्वारमा र शिक्षकले विद्यार्थीको प्रार्थनाको बेलामा हाजिरी लिने गरिएको छ । नर्सरीदेखि कक्षा १२ सम्म पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् । अनुगमन र मुल्यांकनको पाटोलाई व्यवस्थित गर्न विद्यार्थी र अभिभावकलाई सक्रिय बनाइएको छ । विद्यार्थी र अभिभावकले शिक्षकको निगरानी राख्ने र शिक्षकले विद्यार्थीको निगरानी राख्ने दोहोरो अभ्यासबाट विद्यालयमा शैक्षिक वातावरण राम्रो भएको छ । शिक्षक र विद्यार्थी दुबै समयमै उपस्थित हुँदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी भएको विद्यालयका प्रधानाध्यापक वीरबहादुर घर्तीले बताउनुभयो ।

‘हाम्रो दीर्घकालीन सोच भनेकै विद्यालयलाई राम्रो बनाउने हो । त्यही अनुसार शिक्षकहरु समयमै उपस्थित भएमा पठनपाठन राम्रो हुन्छ । विद्यार्थीको हाजिरी प्रार्थनामा हुन्छ । त्यसका लागि पनि सरहरुको उपस्थिति चाँडै हुनुपर्छ’– उहाँले भन्नुभयो– ‘विद्यालयको शैक्षिक गुणस्तर बढाउन नै यो विधि अपनाइएको छ । यसले राम्रो नतिजा दिदै गएको छ ।’ विद्यालयको समग्र शैक्षिक अवस्थालाई चौतर्फी अनुगमन तथा मुल्यांकन हँुदै आएको छ । विद्यार्थी, शिक्षक मात्रै होइन, अभिभावकहरुले पनि नियमित विद्यालयको अनुमगन गर्दै आएका छन् । अभिभावकले अनुगमन गर्न पालो नै लगाउने गरेका छन् । अभिभावक परिचालनबाट पनि विद्यालयलाई नमूना बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवी गुरुङले बताउनुभयो । शिक्षकको हाजिरी प्रवेशद्वारमा मात्रै हुँदैन कक्षा कोठामा पनि शिक्षक उपस्थित भएको समय र निस्किएको समय पनि विद्यार्थीले टिपोट गर्न लगाउँछन् ।

यसरी विद्यार्थी र शिक्षकको बीचमा हुने सहकार्यले सकारात्मक नतिजा देखाएको भनाइ व्यवस्थापन समितिका अध्यक्ष गुरुङको छ । ‘धेरै विद्यालयहरुमा के समस्या देखिन्छ भने शिक्षक र विद्यार्थी समयमा उपस्थित हुन नसक्नु । हामीले विद्यार्थीको अनुगमन गरिरहेका छौं । तर हाम्रो (शिक्षकको) अनुगमन कसले गर्ने भन्ने हुन्छ’– विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले भन्नुभयो– ‘विद्यार्थीलेनै शिक्षकको अनुगमन गर्ने हो भने जिम्मेवार बनाउन सकिन्छ भनेर यो अभियान थालेका हौं । शिक्षकले विद्यार्थीको हाजिरी लगाउँछन् भने विद्यार्थीले पनि शिक्षकको हाजिरी लगाउन पाउनुपर्छ भन्ने मान्यताको आधारमा यो अभ्यास भइरहेको छ । जुन सकारात्मकरुपमा अघि बढेको छ ।’

हरेक कक्षामा प्रोजेक्टर र ल्यापटप

विद्यालयका शिक्षकले गर्ने पठनपाठनको शैली पनि बेग्लै छ । शिशु कक्षादेखि १२ सम्म प्रोजेक्टरबाट विद्यार्थीले पढ्न पाउँछन् । सूचना प्रविधिको उच्चतम प्रयोग विद्यालयमा गरिएको छ । जसले गर्दा विद्यार्थीको सिकाइ अभिवृद्धि उच्चतम रहेको विद्यालयले जनाएको छ । चक, डस्टरको ठाउँमा शिक्षकले स्मार्ट वोर्डबाट पठनपाठन गराउँदै आउनुभएको छ । शिक्षकहरुले पाठ्यपुस्तकको साटो ल्यापटपमा शैक्षिक सामाग्री तयार पार्ने र प्रोजेक्टरबाट प्रिजेन्टेसन गर्दै आउनुभएको छ । विद्यार्थीले गर्ने प्रार्थना कार्य पनि फरक शैलीमा छ । पञ्चेबाजाको तालमा विद्यार्थीले प्रार्थना र अभ्यास गर्दै आएका छन् । जसबाट बाध्यवादनका सामाग्री बजाउन र त्यसबारे ज्ञान लिन पनि विद्यार्थीलाई सजिलो भएको छ । सिद्धार्थ माध्यमिक विद्यालय २०४५ साल जेठ १३ गते स्थापना भएको थियो । जनपरिचालनबाट नमूना बन्न सफल विद्यालय २०५४ सालमा निमावि तह बनेको थियो । जसमा समुदायका मानिसहरुले ५० हजार रकम धरौटी राखेर स्वीकृति लिएका थिए । विद्यालयमा अहिले माध्यमिक तह कक्षा १२ सम्मको पढाइ भइरहेको छ ।

One thought on “जहाँ शिक्षकको हाजिरी विद्यार्थीले गराउँछन्

  1. मिहिनेत गरेपछी जस्तो काम पनि सम्भब हुन्छ भन्ने उदाहरण र सबै सरोकारवालाहरुको मेल मिलापमा वृद्धि हुने काम ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page