स्वर्गद्धारी अपडेट, प्यूठान — अमेरिकाको टेक्सस राज्यको रोब एलिमेन्ट्री स्कुलमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ । मंगलबार भएको घटनामा मृत्यु भएका १९ मध्ये १८ जना विद्यार्थी र एक शिक्षक रहेको बीबीसीले उल्लेख गरेको छ ।१८ वर्षीय साल्भादोर रामोसले गोली चलाएको हुन सक्ने टेक्ससका गभर्नर ग्रेग एबोटले जानकारी दिएका छन् । उक्त समयमा संदिग्ध व्यक्तिसँग गोली र एआर(१५ राइफल रहेको स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । संदिग्ध आक्रमणकारीको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मृत्यु हुने बालबालिकामा ७ देखि १० वर्षसम्मका रहेको जनाइएको छ ।प्राथमिक विद्यालयमा गोली चलाउनुअघि ती किशोरले आफ्नी हजुरआमालाई समेत गोली हानेको जानकारी प्राप्त भएको गभर्नर एबोटले बताएका छन् ।उक्त घटना भएको केही समयपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो किसिमको दुर्घटना विश्वमा विरलै हुने गरेको भन्दै उक्त घटनाको भर्त्सना गरेका छन् ।
यस्तो प्रकारका घटनाहरू अन्य देशको तुलनामा अमेरिकामा ज्यादा हुने गरेको भन्दै राष्ट्रपति बाइडेनले यस्तो किसिमको हत्याविरुद्ध एक भएर लाग्नुपर्ने बताए ।