९ वर्षीय नेपाली बालक बेलायतको प्रतिष्ठित क्रिकेट क्लबमा अनुबन्धित
स्वर्गद्वारी अपडेट
वैशाख १९ गते २०७९
4:09 PM
स्वर्गद्वारी अपडेट
लन्डन — लन्डन बस्ने एक नेपाली बालक बेलायतको प्रतिष्ठित क्रिकेट क्लबमा अनुबन्धित भएका छन् । ९ वर्षीय आर्यन ढुंगाना मिडलसेक्स काउन्टी अन्डर टेन (यू-१०) बरो प्लेयरमा अनुबन्धित भएको उनका बुबा सुरेन्द्र ढुंगानाले जनाए ।
आर्यन 'लेफ्ट ह्यान्डेड' ‘पेस बलर’ र आक्रामक ब्याटर हुन् । उनी सानैदेखि खेलप्रेमी र क्रिकेटप्रति रुची राख्ने गरेको बुबाले बताए । उनले २० वर्षयता बेलायतको क्रिकेट क्लबमा छानिने आर्यन सम्भवतः पहिलो नेपाली बालक रहेको पनि उल्लेख गरे ।
'यो आर्यनका लागि सानो खुट्किलो होला तर समस्त बेलायती नेपाली डायस्पोराको खेल क्षेत्रमा ठूलो फड्कोका रुपमा मैले लिएको छु', उनका बुबाले भने ।एक्टन क्रिकेट क्लब लन्डनमा आइतबार पूर्वइंग्ल्यान्ड क्रिकेटर साजिद महम्मुद र इलिङ क्रिकेट बरो चिफ इजाज हुसेनले आर्यनलाई मिडलसेक्स काउन्टी क्याप हस्तान्तरण गरे । साजिदले आर्यनको क्याप र ब्याटमा हस्ताक्षरसमेत गरेका छन् ।
आर्यनले गतवर्ष अन्डर ८ अन्तर्गत प्रतिष्ठित इलिङ क्रिकेट क्लबमा खेलेर 'प्लेयर अफ दी इयर' उपाधि पाएका थिए । सन् २०१३ मा लन्डनमा जन्मिएका आर्यनका बुबा सुरेन्द्र ढुंगाना चार्टर्ड अकाउन्टेन्ट र आमा सुनिता ढुंगााना इलिङ हस्पिटलमा नर्सको रुपमा कार्यरत छिन् । उनीहरू टिकापुर कैलालीका स्थायी बासिन्दा हुन् ।
आर्यन इलिङस्थित होबबेन प्राइमरी स्कुलमा कक्षा ४ मा अध्ययनरत छन् ।