जिम्बाब्वे ‘ए’ सँग हुने शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीले अभ्यास थाल्यो
स्वर्गद्वारी अपडेट
वैशाख १४ गते २०७९
5:04 PM
स्वर्गद्वारी अपडेट
काठमाण्डाै – आउँदाे शनिवारदेखि कीर्तिपुर मैदानमा जिम्बाब्वेको 'ए' टोलीसँग हुने तीन एकदिवसीय र तीन टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधवारदेखि प्रशिक्षण थालेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बाब्वेसँग हुने एकदिवसीय र टी–२० शृङ्खलाका लागि बोलाएका २३ खेलाडीलाई समावेश गर्दै आजदेखि प्रशिक्षण थालेको हो । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टोलीले पहिलो दिन आज ब्याटिङ पक्षलाई ध्यान दिँदै प्रशिक्षण गरेको थियो । यसअघि हिजाे मङ्गलवार टाेलीले त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा फिटनेसको अभ्यास गरेको थियो ।
त्रिवि मैदानमा आयोजना हुने शृङ्खलाका लागि क्यानले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमलालाई समेटेर टोली घोषणा गरेको थियो । याे टाेलीमा बसिर अहमदले पहिलाे खेल खेल्दै गर्दा सुनिल धमला लामो समयपछि टाेलीमा फर्किएका छन् । यही टाेलीबाट खेलको दिन सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ । शृङ्खला वैशाख १७ गतेदेखि सुरु हुँदैछ । १० दिन चल्ने शृङ्खलामा जिम्बाब्वेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहनेछ ।