प्यूठान जिल्लाको मुख्य बजार क्षेत्र समेटेर बनेको प्यूठानको नगरपालिका कतिपय अवस्थामा अलि बढि चर्चामा आउने गर्दछ । जिल्लाका अन्य सबै स्थानिय तहका नागरिकहरु समेत बसोवास गर्ने हुंदा प्यूठान नगरपालिका माथि सबैको चासो रहेको पाइन्छ । जनसंख्या र भुगोलको हिसावले नौ वटै स्थानिय तह भन्दा यस नगरपालिका ठुलो पालिका समेत हो । २०७४ सालको स्थानिय तहको प्रथम निर्वाचनमा प्यूठान नगरपालिकामा निर्वाचन अधिकृत भइ त्यसपछिको समयमा प्यूठान नगरपालिका बाटै प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदभार सम्हाुल्नु भएका व्यक्तिलाई नगरपालिकाले पुन प्रमुख प्रशासकीय अधिकृतको रुपमा पाएको छ । त्यस्तै सितगंगा नगरपालिका, भुमिकास्थान नगरपािलका अर्घाखाँची र रोल्पा नगरपालिकाको अनुभव संगाल्दै अहिले प्यूठान नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएका कुशल प्रशासकीय नारायण प्रसाद भण्डारीसंग स्वर्गद्धारी अपडेट अनलाइन पत्रिकाले गरेको कुराकानीको सम्पादित अंश….
तपाईको नगरपालिकाको विकास पूर्वाधारको अवस्था कस्तो छ ?
प्यूठान नगरपालिकामा पनि अन्य स्थानिय तहको जस्तो विकास पूर्वाधारको अवस्था राम्रै छ । १० वटा वडाहरु मध्ये १, ८ र १० नं. वडा कार्यालय बाहेक अन्य वडाहरुले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । नगरक्षेत्र भित्रका १२ वटा स्वास्थ्य संस्थाहरुले आफ्नै भवन सेवा दिएका छन् । जसमध्ये ४ वटा आधारभुत स्वास्थ्य केन्द्र, २ वटा शहरी स्वास्थ्य केन्द्र र ६ वटा स्वास्थ्य चौकीबाट यहाँका जनतालाई स्वास्थ्य सेवा दिइरहेका छौं । नगरपालिका भित्रका सबै वडा कार्यालय तथा गाउँबस्तीलाई सडक सञ्जालले जोडेको छ । त्यस्तै नगर क्षेत्र भित्र रहेका ५१ वटा विद्यालयहरुले पनि आफ्नै भवनबाट पठनपाठन सञ्चालन गरिरहेका छन् । पालिका भित्र पर्ने २ वटा क्याम्पसको भौतिक स्तर सुधारका लागि बजेट विनियोज गरिरहेका छौं । ‘एक घर, एक धारा’ अवधारणाका साथ बस्ती–बस्तीमा खानेपानी पुगी सकेको छ । मोटरबाटो स्तरउन्नती गर्ने काम निरन्तर चलिरहेको छ । प्यूठान अस्पतालको भौतिक संरचना निर्माण गर्नका लागि बर्सेनी योजना बनाएका छौं ।
तपाइले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अघि बढाइरहनु भएको छ ?
चालु आर्थिक वर्ष २०८०।०८१ को वार्षिक बजेट तथा नीति कार्यक्रम अनुसार विकास निर्माण तथा सेवा प्रवाहको कामहरु भइरहेको छ । सेवा प्रवाहको अवस्था राम्रो छ । सवै क्षेत्रमा कर्मचारीहरु प्राप्त छन् । शिक्षकको अभावमा बालबालिकको पठनपाठन प्रभावित नहोस् भनेर नगरपालिकाद्धारा करार शिक्षकहरु भर्ना गरी पठनपाठन अगाडि बढाएका छौं । चालु तर्फ ५९ प्रतिशत र पुँजीगत तर्फ ३२ प्रतिशत बजेट खर्च भएको छ । हालसम्म नगरपालिकाको जम्मा बजेट मध्ये ५२ प्रतिशत बजेट खर्च भइ सकेको छ । चालु आर्थिक वर्षमा चालु तर्फ ५ सय ४३ वटा योजना तथा कार्यक्रमहरु रहेका छन् भने पुँजीगत तर्फ ३ सय १२ वटा गरी जम्मा ८ सय ५६ वटा योजनाहरु रहेका छन् । यि मध्ये ६० प्रतिशत योजना तथा कार्यक्रमहरु सम्पन्न भइसकेका छन् । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा सेवा सहित ८६ करोड ८७ लाख ६३ हजार रकम बजेट विनियोजन भएको छ । सेवा प्रवाहका कुरा गर्दा घुम्ती शिविर सञ्चालन गर्ने, बैंकसंग समन्वय गरी प्रत्येक वडाहरुका नागरिकहरुलाई वडामै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लगायतका कामहरु गरिरहेका छौं ।
तपाईको नगरपालिकाको समग्र विकासमा जनसहभागीता कस्तो पाउनु भएको छ ?
जनसहभागीता राम्रै छ । उपभोक्ता मार्फत गरिने योजनाहरुमा १० प्रतिशत रकम सहित जनसहभागीबाट हुनु पर्ने व्यवस्था गरिएको छ । आफ्नो गाउँ ठाउँको विकास गर्नका लागि जनताहरु उत्साहित नै हुनुहुन्छ । विभिन्न विधिहरुबाट योजना तथा कार्यक्रमहरु गर्छौ । कुनै उपभोक्ता समिति मार्फत, कनै अमानत मार्फत गरेका छौं भने ठुला योजनाहरु ठेक्कामा लैजाने गर्छौ । यि सबैमा जनताको साथ र सहभागीता राम्रो रहेको पाएका छौं ।
प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालिरहदा कुनै समस्या व्यहोर्नु परेको छ ?
प्यूठान नगरपालिका मेरो लागि नयाँ ठाउँ होइन । पहिले देखि नै काम गरेको हुंदा यहाँको भुगोल र जनता, नागरिक समाज, सञ्चारकर्मी सबैसंग पहिले नै परिचित भएको हुंदा पनि काम गर्न खासै कठिनाइ छैन । सुरुमा प्रमुख प्रसाशकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै करिब २ वर्ष काम गरेर गएको ठाउँ हो । यहाँ काम गरिरहंदा खास त्यस्तो समस्या भएको छैन । दैनिक काम गर्ने क्रममा केही विषयमा नीतिगत मतभेद हुन सक्छ तर, मनमुटाव नै हुने हिसावले कसैसंग त्यति ठुलो समस्या व्यहोर्नु परेको छैन । कार्यपालिको बैठकमा नीतिगत कुराहरुमा चर्काचर्की भएपनि त्यहाबाट बाहिर निस्केपछि ति कुरा दोहोरिदैनन् । सम्बन्धित स्थल भन्दा बाहिर नीतिगत त्यस्ता कुनै कुराहरु हुंदैनन् ।
नगरपालिकाको आम्दानीको स्रोत बृद्धि गर्न के कस्तो पहल भइरहेको छ ?
संघीय र प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान, राजश्व बाँडफाँडको रकम, शसर्त अनुदान, स्थानिय स्तरमा आम्दानीको मुख्य स्रोत भनेको नदिजन्य पदार्थ विक्री वितरण, आर्थिक ऐन बमोजिमका कर शुल्कहरु, व्यवसायहरु दर्ता, नविकरण गर्ने, राजश्वको दायरा विस्तारमा गर्ने, घर नक्साको अभिलेखीकरण गर्ने लगायतका क्षेत्रहरु छन् । चालु आर्थिक वर्षमा ४ करोड आन्तरिक राजश्व राखिएकोमा साढे ३ करोड माथिको आन्तरिक स्रोत परिचालन हुने आकलन गरिएको छ । अब आगामी आर्थिक वर्षमा ४ करोड १ लाख सम्म आन्तरिक आय स्रोत परिचालन गर्ने लक्ष्य लिएका छौं । स्थानिय उत्पादनलाई प्राथमिकता दिएका छौं उक्त व्यवसायीहरुबाट कर दायरामा ल्याइ स्थानिय आम्दानीको स्रोत बृद्धि गर्ने हो ।
कतिपय स्थानिय तहहरुमा जनप्रतिनिधी र कर्मचारी बीच राजनैतिक दबावका कारण सम्बन्ध राम्रो देखिदैन । तपाइको पालिकाको अवस्था कस्तो छ ?
जनप्रतिनीधिहरुले के गर्ने भन्ने विषयमा नीति नियमहरु बनाइ दिनुहुन्छ । कर्मचारीले ति नीति नियम कसरी कार्यान्वय गर्ने भनेर त्यहि भित्र टेकेर काम गर्ने हुंदा त्यस्तो दवाव भन्ने नै हुंदैन । हामीसंग सुचनाको स्रोत भएको हुंदा जनप्रतिनिधीहरुले नीति निर्माण गर्दा हामीले सुझाव दिने गर्दछौं । मेयर, उपमेयर बीच छलफल भएर बैठकमा जाने हुंदा हामीले लगेका एजेण्डाहरुको निर्णय नहुने, बैठक नै नबस्ने जस्ता समस्या छैनन् । कर्मचारी र जनप्रतिनीधि बीचको सम्बन्ध परिपुरक नै छ ।
धन्यवाद !