समय : ०३:११ am | सोमबार , मंसिर २३ गते २०८१

कानुनले उपाध्यक्षलाई धेरै अधिकार दिएको छ- उपाध्यक्ष श्रेष्ठ

राधिका भुषाल | जेठ २९ गते २०८१

प्युठानको ऐरावती गाउँपालिकामा बनाइएका नीति नियम कार्यान्यवन, बजार अनुगमन, योजना अनुगमन, न्यायीक समिति, बजेट निर्माण र राजश्व संकलन लगायतका विषयमा रहेर २०७९ सालको स्थानीय चुनावबाट निर्वाचित भई उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका कृष्ण प्रसाद श्रेष्ठ संग स्वर्गद्वारी अपडेटले समय सान्दर्भिक गरिएको कुराकानीको प्रस्तुत-

उपाध्यक्ष भएर काम गर्दाको  अनुभव कस्तो छ  ?

निर्वाचित भएर आइसके पछि हामीले आफ्नो काम, कर्तव्य र जिम्मेवारी थाहा पाउनु पर्छ । काम, कर्तव्य, अधिकारको बारेमा पहिला जान्न पर्ने हुन्छ । कतिपय कुराहरु गर्दै सिक्दै आएको छु । बाहिरबाट देख्दा जति सहज देखिन्छ भित्र बसेर काम गर्न त्यस्तो हुदैन ।

उपाध्यक्षको हैसितबाट पालिकाको प्राथमिकतामा  के के छन ?

पहिलो कुरा त सुशासन युक्त पालिकाको रुपमा विकास गर्नु पर्छ । भौतिक वस्तुहरुलाई मात्र जोड दिएर मात्र विकाश हुदैन भन्ने मेरो बुझाइ छ । विकास निर्माण कामसंगै सुशासनको पाटोलाई पनि बलियो बनाएर लैजाने हो भने बल्ल अर्थ पूर्ण काम हुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका विषयलाई पनि हेर्ने गरेका छु । प्रत्यक्ष रुपमा ऐरावती गाउँपालिकावासीको जीवनसंग जोडिएका कुराहरु छन् ।

कानुनले उपाध्यक्षलाई धेरै अधिकार दिएको छ । प्राय स्थानिय तहहरुमा उपाध्यक्ष पद कामकाजी देखिदैन तपाइको अभ्यास कस्तो छ ?

उपाध्यक्ष पदको जिम्मेवारीलाई कानुनी रुपमा ल्याइएको छ । अब चुनावमा जानेबेला उपाध्यक्ष कानुन विद हुनुपर्छ भनिएको छैन । कतिपय कुराहरु काम गर्दै जादाँ सिक्ने हो । उपाध्यक्षलाई अर्धन्यायीक जिम्मेरी दिइएको हुंदा आएका मुद्धाहरुलाई हेर्नु पर्ने हुन्छ । त्यसमा पनि १३ प्रकारका मुद्धाहरु न्याय निरुपण गर्नु पर्ने र ११ प्रकारका मुद्धाहरुलाई मेलमिलाप प्रक्रियाद्धारा लैजानु पर्ने हुन्छन् । यसरी आफुले नजानेका कुराहरु पनि कानुन पल्टाउदै काम गर्दै गर्नु पर्ने हुन्छ । यसरी काम गरिरहदा कानुनको अधिनमा रही स्वच्छ तरीकाले जनताको विश्वास जित्ने गरी काम गर्नु पर्छ त्यही अनुसार नै काम गरिरहेका छु । 

उपाध्यक्षलाई न्यायको क्षेत्रमा मात्र नभएर सामाजिक सुरक्षाको क्षेत्रमा पनि धेरै अधिकार दिइएको छ तपाईले कसरी काम गरिरहनु भएको छ ?

करिब १२ प्रकार कामको मुख्य जिम्मेवारी उपाध्यक्षलाई दिएको छ । बजार अनुगमन, योजना अनुगमन, न्यायीक समिति, बजेट निर्माण, राजश्व संकलन लगायतका विषय छन् । हामीले सजह र सरल तरिका अपनाएर कानुनी विधि पु¥याएर काम गरिरहेका छौ । सकेसम्म जनतालाई अप्ठ्यारो नपर्ने गरी काम गर्नु पर्छ । सर्व प्रथम त जनतालाई सचेत बनाउनु पर्ने हुन्छ । यो काम गलत हो भन्ने जान्दा जान्दै अटेरी गरेमा कानुनी विधि अपनाउन पर्छ मेरो अभ्यास पनि यही छ ।

न्यायीक समितिमा फर्छौट हुन नसकेका मुद्धाहरु कसरी किनारा लगाउनु हुन्छ ? पालिकामा हालसम्म के कस्ता मुद्धाहरु आउने गरेका छन् ?

न्यायीक समितिको अधिकार क्षेत्र भित्रको मुद्धाहरुमा हामीले बहस तथा छलफल गर्ने गर्दछौं । हाम्रो कार्यक्षेत्र बाहिरको मुद्धाहरु भए सम्बन्धित ठाउँमा पुग्नका लागि सहयोग गर्ने गरेका छौ । पालिका भित्र पर्ने गरी विशेषगरी आठाकिलो, कुलो मिचिएको, बाटो मिचिएको, श्रीमान श्रीमति विचको सम्बन्ध खटपट भएपछि पालन पोषणको विषय लगायतका मुद्धाहरु आउने गरेका छन् । सकेसम्म मिलापत्र गरेर पठाउने गरेका छौं थोरै मुद्धा मात्र पालिकाबाट पुनरावेदन जाने गरेको छ । हतम्याद कायम हुने गरी जानकारी समेत दिएर पठाउने गरेका छौ ।

पालिका भित्र विकास निर्माणका योजनाहरु अनुगमन कसरी गरिरहनु भएको छ त ?

यदि विवादित योजना छ भने ५० हजार १ लाखको योजनाको पनि अनुगमन गर्ने गरेका छौं । सकेसम्म सबै योजनाहरुको ३ पटकसम्म अनुगमन गर्ने गरेका छौं । काम सुरु गर्न अघि, काम गरिरहदा र सम्पन्न भएपछि अनुगमन गरेर भुक्तानी प्रकृयामा जाने गरेका छ । यदि सम्झौता समय भित्र काम सम्पन्न नभएको भए जति काम भएको त्यत्तिको मात्र भुक्तानी दिने व्यवस्था गरेका छौं ।

पालिकाले बनाएका कार्यविधीको कार्यान्वय कत्तिको भएका छन् ?

सबैलाई सहज हुने गरी पहिले कानुन बनाएका छौं । विना कानुन कुनै काम हुंदैनन र त्यो कानुनमा टेकेर हामी काम गर्ने हो । कार्यविधि भएन भने हामीले काम गर्नुको कुनै औचित्य हुंदैन । हामी आफैले बनाएको कार्यविधि हो कार्यान्वयन गर्नु पर्छ र गरेका पनि छौ कार्यविधि अनुसार काम गर्न सहज पनि छ । हाम्रा कमजोरीहरुलाई ऐरावती गाउँपालिकावासी जनसमुदायले सुझाव दिर्नु पर्छ र हामीले सुधार गर्ने मौका पाउने छौ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्