नौबहिनी गाउँपालिका प्यूठान जिल्लाको उत्तरपुर्वी क्षेत्रमा पर्दछ । भौगोलिक हिसावले जिल्लाको विकट मानिने यस क्षेत्र कृषि, पर्यटन, प्राकृतिक सुन्दरता, विविधता लगायतले भरिपूर्ण छ । यस गाँउपालिका ८ वटा वडामा विभाजित भई विकासको गति तिव्र रुपले अघि बढिरहेको छ । राजनीतिक पार्टीको कुनै जिम्मेवारीमा नरही ३४ वर्षे उमेरमा जनप्रतिनिधिमा निर्वाचित एवं स्वास्थ्य क्षेत्र तर्फ अनमी पदमा बसेर १३ वर्ष सरकारी सेवा अनुभव लिएर जनप्रतिनिधि निर्वाचित हुनु भएकी नौ बहिनी गाउँपालिका उपाध्यक्ष विस्ना थापासंग स्वर्गद्धारी अपडेटले समय सान्दर्भिक गरेको सम्वाद प्रस्तुत
उपाध्यक्ष पदमा निर्वाचित पछि तपाईको अनुभव कस्तो छ ?
नौबहिनी गाउँपालिकावासी जनताको अभिभावक रुपमा आफु रहेको जस्तो लाग्छ । मैले यहाँको जनताको अभिभावकत्व लिइ सकेपछि यहाँको हरेक क्षेत्रमा समान व्यवहारले काम गर्नु पर्छ । बाहिरबाट हेर्दाको भन्दा यो पदमा बसेर प्रत्येक काममा जनतासंगसंगै काम गर्दा धेरै फरक छ । महिला भएको कारण पनि यहाँका दिदिबहिनीहरुले मसंग खुलेर आफ्नो समस्या तथा गुनासोहरु राख्ने गर्नु हुन्छ । बजेट विनियोजन गर्ने समयमा पनि उहाँहरुले धेरै सुझावहरु दिनु गर्नु भएको छ । एउटा महिला शिक्षित र आर्थिक रुपमा सक्षम भएपछि सिंगो परिवारनै शिक्षित हुने गर्दछ त्यसकारण महिलाहरुलाई उहाँको क्षमता अनुसारको सिप प्रदान गरेर रोजगारी तर्फ लैजानु पर्छ भन्ने लागेको छ । र, सोही अनुसार विभिन्न क्षमता विकास तथा सिप विकास तालिमहरु प्रदान गरेका छौ अब व्यवसायीक रुपमा उत्पादन हुन थाल्नु भएको छ ।
तपाईको तर्फबाट नौ बहिनीको प्राथमिकतामा के के छन् ?
जनप्रतिनिधी हुनु भन्दा अघि स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेको हुंदा मलाई धेरै कुराको अनुभव छ । जनताको प्रत्येक्ष जीवनसंग जोडिएको शिक्षा, स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेका छौं । जबसम्म मान्छेलाई चेतना हुदैन हामी सबै कुरामा पछिपर्ने गर्दछौ । गुणस्तरीय शिक्षाले नै हरेको व्यक्तिको जीवनमा परिवर्तन ल्याउने हो । सबै प्रथम स्वस्थ हुनु प¥यो अनि शिक्षा प्राप्त गर्नु प¥यो । यस भन्दा अघि पनि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेका थियौ अहिले पनि निरन्तरता दिएका छौं । प्रत्येक नागरिक स्वस्थ र शिक्षित भएपछि हामीले गर्न खोजेको परिवर्तन सम्भव हुनेछ । स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभवले पनि स्वास्थ्य र शिक्षालाई बढि प्राथमिकतामा राखेर कार्यक्रमहरु गरेका छौं ।
न्यायीक समितिमा के कस्ता समस्या तथा मुद्धाहरु आउने गरेका छन् ?
हाम्रो पालिकामा अहिले सम्म २१ वटा निवेदन दर्ता भएको छ । आफ्नो क्षेत्र अधिकार भित्रको मुद्धा हेर्ने गरेका छौं । सामान्य झै झगडा, लिनदेन, अन्नवाली क्षेती जस्ता समस्याहरु आउने गरेका छन् । खासै अप्ठ्यारा समस्याहरु आएका छैनन् । हामीले सबै क्षेत्रबाट राम्रो सहयोग पाएका छौं । जिल्ला न्यायधिसले पनि न्यायीक समितिले गरेको कामको मुल्याकंन गरेर इजलास बनाउने सुझाव समेत दिनु भएको छ । आगामी वर्षबाट इजलास बनाउने तयारी गर्ने छौं । समय समयमा प्यूठानका नौ वटै स्थानीय तहहरुको न्यायिक समितिको बैठक बसेर सिकाइ आदान प्रदान गर्ने गरेका छौं यसले गर्दा काम गर्न अझै सहज भएको छ ।
उपाभोक्ता हित संरक्षण कसरी गर्नु भएको छ ?
पालिकाको नियम अनुसार योजनाहरु अनुगमन गरेका छौं । बजार अनुगमनको सन्दर्भमा नौ बहिनी भित्रका ८ वटै वडामा पुगेर ति पसलहरुमा हदम्याद नाघेका बस्तुहरु छन छैनन् भनि हेर्ने गर्दछौ । बढि मात्रामा पेय पदार्थमा म्याद नाघेको भेटिएका छन् गाउँका सोझा जनताले म्याद कसरी हेर्ने भन्नेसम्म थाहा नपाउदा अखाद्य बस्तुहरु खान बाध्य थिए । अहिले व्यापारी र उपभोक्ता दुवै तर्फ सजग भएका छन् ।
बजेट विनियोजनमा तपाईको भुमिका कत्तिको रहने गर्दछ । युवा तथा महिलाहरुलाई कसरी समेट्नु भएको छ ?
बजेट बनाउने बेलामा मेरो भुमिका राम्रै रहन्छ । म आफु महिला भएको कारण पनि महिला तथा युवाहरुलाई विशेष छलफल गरेर बजेट विनियोजन गर्ने गरेका छौं । महिला दिदि बहिनीहरुले माग गरे अनुसार उहाँहरुको इच्छा चाहाना अनुसार तालिमहरु सिकाउनको लागि बजेट विनियोजन गर्दै आएका छौं । सिलाइ कटाई, डल तथा कुसन निर्माण, होजियारी, दुना टपरी लगायतका तालिम तथा उपकरण प्रदान गरी सिप सिकाउने गरेका छौं । उहाँहरुलाई आय आर्जनसंग जोड्नका लागि उहाँकै चाहाना र क्षमता अनुसार तालिमहरु दिने गरिएको छ । दिदि बहिनीहरु एकदमै उत्सुत्ताका साथ सहभागी हुनु भएको छ ।
नौबहिनीमा उत्पादित बस्तुको बजारीकरण कस्तो छ ?
हाम्रो पालिका भित्र उत्पादित सामानलाई व्यवस्थित तरिकाले बजारीकरण गर्नका लागि हामीले संकलन केन्द्र र कोशेली घर सञ्चालन गर्दैछौ । आगामी आर्थिक वर्षदेखि सञ्चालन हुने गरी भवन निर्माणको काम तिव्र रुपमा अघि बढेको छ । त्यससंगै नौ बहिनी भित्र उत्पादित बस्तुलाई अन्तरपालिका बजारीकरण गर्नेका लागि विभिन्न पालिकासंग सम्पर्क समन्वय गरिरहेका छौं । यहाँ उत्पादन भएको कुन कुन बस्तुहरु कति खपत हुन्छ त्यहि अनुसार बाहिरी बस्तु आयातमा रोक लगानु पर्छ । सुरुमा अलि कठिन होला तर, विस्तारै पालिका भित्रको उत्पादित बस्तुले बजार पाउछ र यहाँका जनताको जीवन स्तर परिवर्तन हुदै जानेछ भन्ने कुरामा विश्वास छ । हामीले सिप सिकाएका छौं अब उत्पादित बस्तुका बजारीकरण पनि हामीले गर्नेछौं यसले गर्दा विदेश पलायन हुने समस्या र सानोतिनो व्यापार गर्न शहर जाने व्यक्तिहरु रोकिने छन् पालिकाको आन्तरिक स्रोत पनि बृद्धि हुनेछ ।