समय : ०४:३२ pm | बिहिबार , मंसिर ६ गते २०८१

राजनैतिक हस्तक्षेप नहुँदा काम गर्न सहज छ:  

स्वर्गद्वारी अपडेट | चैत्र १६ गते २०८०

प्यूठान जिल्लाको ऐरावती गाउँपालिका साविकका गा.वि.स.हरु दाङवाङ, बरौला, पकला, विजुली, धुवाङ र रस्पुरकोट मिलेर बनेको छ भने हाल ६ वटा वडाहरु रहका छन । यस गाउँपालिका प्यूठानको सरुमारानी, माण्डवी, मल्लरानी गाउँपालिका र अर्घाखाँची जिल्लासंग सिमाना जोडिएको छ । पालिका भित्रको विकाश निर्माणको अवस्था, बजेट नीति तथा कार्यक्रमको कार्यान्वयनको विषयमा केन्द्रित रही ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मासंग स्वर्गद्वारी अपडेटले  गरेको कुराकानीको सम्पादित अंश:-

१. ऐरावती गाउँपालिकाको विकास पूर्वाधारको अवस्था कस्तो छ ?

अन्य स्थानिय तहको जस्तो हाम्रो ऐरावतीमा पनि विकास पूर्वाधारको अवस्था राम्रै छ । सबै वडा कार्यालयको आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको छ । त्यस्तै स्वास्थ्य चौकीहरुले आफ्नै भवन सेवा दिएका छन् । ४ वटा सामुदायीक स्वास्थ्य इकाइबाट यहाँका जनतालाई सेवा दिइरहेका छौं । पालिका भित्रका सबै वडा कार्यालय तथा गाउँबस्तीलाई सडक सञ्जालले जोडेको  छ । गाउँपालिकाले आफ्नै भवन निर्माण गरी सेवा प्रदान गरिरहेको छ त्यस्तै गाउँपालिकामा रहेका ४१ वटा विद्यालयहरुले पनि आफ्नै भवनबाट पठनपाठन सञ्चालन गरिरहेका छन् । ‘एक घर, एक धारा’ अवधारणाका साथ बस्ती–बस्तीमा  खानेपानी पु¥याउने काम तिव्र गतिमा भइरहेको छ भने मोटरबाटो स्तरउन्नती गर्ने काम निरन्तर चलिरहेको छ । १५ शैयाको अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ ।

२. तपाइले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अघि बढाइरहनु भएको छ ?

आर्थिक वर्ष २०८०।०८१ को बजेट तथा नीति कार्यक्रम अनुसार काम भइरहेको छ । सेवा प्रवाहका कुरा गर्दा घुम्ती शिविर सञ्चालन गर्ने, बैंकसंग समन्वय गरी प्रत्येक वडाहरुमा योजनाको खाता सञ्चालन गर्ने काम भइरहेको छ । विकाश निर्माण तर्फ २०८१ बैशाख मसान्तसम्म वडा स्तरीय योजना सम्पन्न गर्नुका साथै ठुला योजनाको ठेक्का समयमै लगाएका छौ । विजुलीकोटको खानेपानी निर्माण यहि बैशाख मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको छ । गाउँपालिकाको हरेक क्षेत्र तर्फ काम गर्ने समयमा कुनै समस्या आएमा कार्यपालिका बैठकबाट समाधानको गर्ने गरेका छौ ।

३. तपाईको गाउँपालिकाको समग्र विकाशमा जनसहभागीता कस्तो पाउनु भएको छ ?

पालिकावासीहरु अत्यन्तै सकारात्मक हुनुहुन्छ । हरेक क्षेत्रमा यहाँहरुको व्यापक जनसहभागीता छ । धेरै विकासका कामहरु उपभोक्ताबाटै गर्ने गरेका छौं । विकास निर्माणमा उपभोक्ता समितिहरुको कम्तीमा १० प्रतिशत लागत सहभागीता अनिवार्य हुने व्यवस्थाले उपभोक्ताहरुले विकास निर्माणमा चासो दिनुका साथै लागत सहभागीता गरी रहेको पाइएको छ । सबै भन्दा बढि लागत सहभागीता खानेपानी योजनाहरुमा देखिएको छ ।

४. प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालिरहदा  कुनै समस्या व्यहोर्नु परेको छ ?

पक्कै पनि काम गर्ने क्रममा समस्या त आइहाल्छन नै तर, समस्याको पहिचान गरी समाधान तर्फ जाने गरेको छु । कुनै नीतिगत समस्याहरु हुन्छ । ति समस्यालाई हल गर्न कार्यपालिका बैठक बस्छौ अन्य सामान्य विषयवस्तु भएको खण्डमा सम्बन्धित शाखासंग समन्वय गर्छौं । अहिलेसम्म त्यति ठुलो समस्या आइपरेको छैन । जुनसकै ठाउँमा पनि काम गर्दा समस्या तथा चुनौती आइरहेका हुन्छ त्यस्ता कुरालाई छलफल गरी हल गर्न सकिन्छ ।

५. गाउँपालिकाको आम्दानीको स्रोत बृद्धि गर्न के कस्तो पहल भइरहेको छ ?

हाम्रो गाउँपालिका भित्र रहेका व्यवसायहरु दर्ता, नविकरण गर्ने । राजश्वको दायरा विस्तारमा केन्द्रित हुने । घरनक्साको अभिलेखीकरण गर्ने । स्थानिय स्तरमा सञ्चालन हुने अटो रिक्सा दर्ता गर्ने । नदिजन्य पदार्थ ठेक्का प्रणालीबाट हुने आम्दानी । स्थानिय सरकार भनेको स्थानिय स्तरबाट चल्नु पर्ने हो तर, संघीय र प्रदेश सरकारकै स्रोतबाट हामी चल्नु परेको छ । स्थानिय उत्पादनलाई प्राथमिकता दिइ उक्त व्यवसायीहरुबाट कर अशुली गर्ने हो भने राजश्व वृद्धि हुन्छ ।  कर बृद्धि गर्नु भन्दा करको दायरा फराकिलो गराउन तर्फ केन्दित भएका छौं । 

६. कतिपय स्थानिय तहहरुमा जनप्रतिनिधी र कर्मचारी बीच राजनैतिक दबावका कारण सम्बन्ध राम्रो देखिदैन । तपाइको पालिकाको अवस्था कस्तो  छ ?

हामीले काम गर्ने क्रममा सहज वातावरण हुनका लागि जनप्रतिनिधीसंगको राम्रो समन्वय एवं सहकार्य हुन जरुरी छ । ऐरावतीमा जनप्रतिनीधि र कर्मचारी सम्बन्ध परिपुरक छ । राजनैतिक हस्तक्षेप शुन्य छ । सबै काम कानुन बमोजिम नै हुन्छ । जनप्रतिनीधिहरुले नीति नियमहरु निर्माण गर्ने र कर्मचारीले ति नीति नियम भित्र टेकेर काम गर्ने हुंदा यहाँ जनप्रतिनिधी र कर्मचारी बीचको सम्बन्ध राम्रो छ ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्