समय : ०९:३० am | शनिबार , श्रावण १२ गते २०८१

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान प्युठानमा पनि सुरु

स्वर्गद्वारी अपडेट | मंसिर ९ गते २०८०

प्युठान। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ।‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ । 

जस अन्तर्गत प्युठानको नौ वटा स्थानीय तहहरुमा आज लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको उद्घाटन गरिएको छ ।“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नारा सँगै शनिवार जिल्लाका सबै स्थानीय तहरुमा उद्घाटन गरिएको छ ।

सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ । 

नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि वि.सं.२०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँन थालिएको हो । 

नोभेम्बर २५ देखि डिसेम्बर १० का बिचमा पर्ने अन्य दुई महत्त्वपूर्ण दिवसलाई पनि यही १६ दिने अभियानअन्तर्गत मनाउने गरिएको छ।यस अभियानअन्तर्गत विश्वव्यापी रूपमै महिला हिंसासँग सम्बन्धित चरणबद्ध अन्तरक्रिया, सडक नाटक, पोष्टर तथा पम्प्लेट प्रतियोगिता, सार्वजनिक सुनुवाइ, सूचना,शिक्षा सामग्रीको प्रदर्शन, सञ्चार अभियान, गोलमेच छलफललगायत कार्यक्रम गरी मनाउने गरिएको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page