प्युठान। प्युठानबाट आर्थिक वर्ष २०८२/८३ मा करिब १९ करोड बढी रुपैयाँ बराबरको रकम खर्च हुन नसकेर फिर्ता भएको छ।कोष तथा लेखा नियन्त्रक कार्यालय प्युठानले दिएको जानकारी अनुसार जिल्लाबाट १९ करोड ३९ लाख २० हजार ८४५ रुपैयाँ बजेट फिर्ता गएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा विकासका लागि संघ र प्रदेश सरकारबाट विभिन्न शिर्षकमा प्राप्त भएको रकम खर्च हुन नसकी फिर्ता गएको हो।जिल्लाबाट खर्च नभई फिर्ता हुने बजेटमा संघिय सरकारतर्फको बजेट धेरै रहेको छ।फिर्ता हुने बजेटमा संघतर्फ बजेट १४ करोड ६७ लाख १९ हजार ६८२ रुपैयाँ रहेको छ।भने प्रदेशतर्फको बजेटमा ४ करोड ७२ लाख १ हजार १६५ रुपैयाँ फिर्ता भएको छ।
प्युठानलाई संघिय सरकारबाट २ अर्ब ८६ करोड ७३ लाख ७१ हजार रुपैयाँ र लुम्बिनी प्रदेश सरकारबाट ६ करोड १० लाख ७७ हजार रुपैयाँ प्राप्त भएको थियो।
जसमा संघिय सरकारको पुँजीगत बजेट पुँजीगत बजेटतर्फ ६३ करोड १४ लाख रुपैयाँ रहेकोमा ४८ करोड ४६ लाख ८० हजार ३१८ रुपैयाँ खर्च भएको छ, भने लुम्बिनी प्रदेश सरकारको पुँजीगत बजेटतर्फ १७ करोड ७८ लाख रुपैयाँ रहेकोमा १३ करोड ५९ लाख ८ हजार ८३५ रुपैयाँ बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानले जनाएको छ।
जिल्लामा विकास निर्माणका लागि आएका बजेटहरु खर्च नभई वर्षेनी रुपमा फिर्ता जानु दु:खद पक्ष हो।विनियोजन भएको बजेट मध्ये सबै बजेट खर्च नहुनुमा धेरै कारणहरु रहेको तर्क गरिन्छ।








