समय : १०:०८ am | बिहिबार , असाेज ८ गते २०८३

आज र भोलि देशभर यस्तो हुनेछ मौसमको अवस्था

स्वर्गद्वारी अपडेट | असाेज ८ गते २०८३

काठमाडौँ जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज ८ र ९ गते देशका अधिकांश भू-भागमा बदली रही विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

वर्षासँगै हिमाली क्षेत्रमा हिमपात, पहाडी भेगमा पहिरोको जोखिम र तराईका भू-भागमा तीव्र गतिको हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार असोज ०८ गते बिहीबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहने देखिन्छ।

यस अवधिमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा र कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीको तराई भेगका धेरै ठाउँ तथा सुदूरपश्चिमको तराईका केही स्थानमा मध्यम वर्षा हुनेछ।

दिउँसो कोशी, बागमती र गण्डकीका थोरै तथा मधेश र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहँदा कोशी र बागमतीका पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुनसक्नेछ। मधेश र कोशीको तराई भू-भागमा भने हुरीबतासको सम्भावना रहेको छ।

बिहीबार राति पनि मौसमको अवस्था उस्तै रहने महाशाखाले जनाएको छ। रातिको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा अधिकांश बदली कायमै रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

विशेषगरी कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको जोखिम रहेको औंल्याइएको छ। साथै, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरी चल्नसक्ने पूर्वानुमान गरिएको छ।

असोज ०९ गते शुक्रबार वर्षाको प्रभाव अझ बढ्ने देखिएको छ। शुक्रबार दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली क्षेत्रका अधिकांश स्थान र कर्णालीका हिमाली भू-भागका धेरै स्थानमा मध्यमसम्मको हिमपात वा वर्षा हुनेछ।

पहाडी र तराई क्षेत्रमा समेत व्यापक वर्षाको सम्भावना रहेको छ। शुक्रबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ भने लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको चेतावनी दिइएको छ। यस दिन मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीको तराई भेगमा हावाहुरीको प्रभाव देखिनेछ।

शुक्रबार राति पनि देशभर अधिकांश बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली भेगका अधिकांश भू-भागमा हिमपात र मध्यम वर्षाको सम्भावना रहनेछ। पहाडी तथा तराई भू-भागका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनेछ।

रातिको समयमा पनि देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना यथावत् रहनेछ। साथै, मधेश, बागमती, गण्डकी र लुम्बिनीको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

लगातारको भारी तथा अति भारी वर्षाका कारण नदीनालाहरूमा जलसतह बढ्ने, बाढी-पहिरो तथा डुबानको जोखिम उच्च रहने र तराई भेगमा हावाहुरीले जनजीवन प्रभावित पार्नसक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन्।

यो पनि पढ्नुहोस्