समय : ०१:०४ pm | बुधबार , मंसिर ९ गते २०८३

प्युठानमा आजदेखी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

सरकारले चलाएको अभियान वास्तविक पीडितसम्म पुग्न नसकेको महिला अधिकारकर्मीहरूको गुनासो छ।

स्वर्गद्वारी अपडेट | मंसिर ९ गते २०८३

प्युठान।लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान बुधबार देखि सुरु भएको छ।‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नारासहित प्युठानमा ३५औँ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो।

प्युठानका स्थानीय तहहरुले आज देखी आफ्नो पालिका भित्र रहेका महिला,बालबालिका र सरोकारवालाहरुलाई भेला तथा र्याली गरेर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेका छन्।हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरि विश्वभर लैंगिक हिंसाविरुद्धको अभियान मनाउने गरिन्छ।

महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको छ।

सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर १६ दिने अभियानका क्रममा महिला तथा बालिकामाथि भएको विभेद र हिंसाबारे प्रतिकात्मक नाटक प्रदर्शनी, हिंसाको विश्लेषणात्मक पुस्तक अन्वेषी सार्वजनिक र सरोकारवाला पक्षहरूसँग बृहत् भेला र देशभर गोष्ठीलगायत कार्यक्रम गर्ने जनाइएको छ ।

विगत २४ वर्षदेखि सरकारी तथा गैरसरकारी संघ संस्थाले महिला हिंसाविरुद्धको अभियान चलाईरहे पनि महिला हिंसाका घटनामा कमी आएका छैनन्।सरकारले चलाएको अभियान वास्तविक पीडितसम्म पुग्न नसकेको महिला अधिकारकर्मीहरूको गुनासो छ।

यो पनि पढ्नुहोस्