समय : ०९:५४ pm | बुधबार , मंसिर २ गते २०८३

मेडिकलका विद्यार्थी कँडेलको पहिलो कृति ‘SOULFUL SILENCE’ बजारमा

उनले बागलुङस्थित बिद्यामन्दिर पुस्तकालयमा देवकोटा जयन्ती तथा लक्ष्मीपूजाको विशेष अवसर पारेर पुस्तक विमोचन गरेका थिए।

स्वर्गद्वारी अपडेट | मंसिर २ गते २०८३

प्युठान। बागलुङका युवा साहित्यकार प्रमेश कँडेलले आफ्नो पहिलो साहित्यिक कृति अंग्रेजी कविता संग्रह 'SOULFUL SILENCE’ बजारमा ल्याएका छन्। काठेखोला गाउँपालिका–२, बागलुङका कँडेलले साहित्यप्रतिको रुचि र सिर्जनात्मक यात्रालाई पुस्तकमार्फत सार्वजनिक गरेका हुन्।

सानै उमेरदेखि साहित्य पढ्ने र लेख्ने रुचि राख्दै आएका कँडेल हाल काठमाडौंमा मेडिकल विषयको अध्ययन गरिरहेका छन्। अध्ययनसँगै नयाँ तथा पुराना साहित्यिक कृति पढ्ने र लेख्ने अभ्यासले आफूलाई साहित्य सिर्जनातर्फ आकर्षित गरेको उनले बताए।

अंग्रेजी भाषामा प्रकाशित कविता संग्रह 'SOULFUL SILENCE’ मा प्रेम, प्रकृति, सुनौला रात्रीहरू, जीवन, दर्शन, अध्यात्म र आत्मशान्तिसँग जोडिएका भावनात्मक अनुभूतिहरू समेटिएका छन्। युवा उमेरमै साहित्यिक सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्ने प्रयासमा रहेका कँडेलको यो पहिलो कृति हो।

उनले बागलुङस्थित बिद्यामन्दिर पुस्तकालयमा देवकोटा जयन्ती तथा लक्ष्मीपूजाको विशेष अवसर पारेर पुस्तक विमोचन गरेका थिए।विमोचन कार्यक्रममा विद्यामन्दिर पुस्तकालय बागलुङका पूर्वअध्यक्ष राजनकुमार श्रेष्ठ, धौलागिरि क्याम्पसका पूर्व प्रमुख तथा प्राध्यापक डा. रामप्रसाद उपाध्याय, नेपाल पत्रकार महासंघ बागलुङका राम थापा 'अविरल' र स्वयं लेखक कँडेलले मन्तव्य राखेका थिए।

विमोचनमा पुस्तकको केही गहिराइ सम्म श्रद्द्य परमेश्वर अच्युत दास र क्याम्पस शिक्षक गणेश आचार्यले प्रकाश पारेका थिए।

साहित्य र अध्ययनलाई सँगसँगै अघि बढाइरहेका कँडेलको पहिलो कृति ‘SOULFUL SILENCE’ ले युवा पुस्तामा साहित्यप्रतिको आकर्षण र सिर्जनात्मक सम्भावनालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्