समय : ०६:२२ am | शनिबार , श्रावण १२ गते २०८१

मुलाको बीउ उत्पादन गर्दै सराङ्गवेशीका कृषक

राधिका भुषाल | चैत्र ९ गते २०८०

प्यूठान । पछिल्लो समय प्यूठान जिल्लामा तरकारीको वीउ उत्पादन बढ्दै गएको छ । किसानले उत्पादन गरेको बीउ बजारीकरणका लागि सम्बन्धित कार्यालय जिम्मेवारी लिएसंगै बीउ उत्पादन बढेको हो ।

ऐरावती गाउँपालिका ४ सराङ्गवेशीका कृषकहरुले मुलाको वीउ उत्पादन गर्न थालेका छन् । मिनोअर्ली जातको मुलाको वीउ उत्पादन गरी जिल्ला बाहिर निर्यात गर्ने उदेश्य रहेको गोरख बहादुर रोकाले बताए । उनी सहित सोही निवासी छम बहादुर रोका र सिवा राना गरी तीन जना कृषकले संयुक्त रुपमा मुलाको बीउ उत्पादन थालेको उनले बताए । ‘हामीले यो सिजनमा ४ रोपनी जमिनमा मुलाको बीउ उत्पादन गर्दै छौं ।’ गोरख बहादुर रोकाले भने–‘अहिले १५ पाथी बीउ उत्पादन गरी बजार पु¥याउने लक्ष्य छ ।’ यस भन्दा अगाडि अर्थात अघिल्लो सिजनमा ऐरावती ४ कैरनमा रातो मुलाको बीउ करिब २० के.जी उत्पादन भएपछि अलिधेरै परिमाणमा मुलाको बीउ उत्पादन गर्न थालेको उनले बताए । प्राधनमन्त्री कृषि आधुनिकरण परियोजना प्यूठानले उत्पादन भएको बीउ बिक्री वितरणको लागि जिम्मा ल्याइदिने भएपछि आफुहरुले मुलाको बीउ उत्पादन गर्न थालेको बताउछन् । झिमरुक बहुउदेश्यीय कृषि सहकारी संस्था ऐरावती ४ कैरन मार्फत समुहमा रही कृषि क्षेत्रमा प्राथमिकता साथ काम गरेका उनीहरुको भनाइ छ । 

उता प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा प्यूठानले यसरी कृषकहरुले उत्पादन गरेको वीउ जिल्ला बाहिर पठाउन सुरु गरेको कार्यालय प्रमुख चुमान गिरीले बताए । ‘उत्पादन भएको ठाउँमै पुगेर कार्यालयको गाडीमा ढुवानी गरी हामीले काठमाण्डौ पठाएका छौं ।’ प्रमुख गिरीले भने–‘किसानले अपेक्षा गरे भन्दा राम्रो मुल्य प्रति के.जी. २ सय ६० मा ५ क्वीन्टल राजमाको बीउ नेपाल बहुउदेश्यीय कृषि सहकारी संस्था काठमाण्डौमा पठाइसक्यो अब मुलाको बीउ तयार हुदैछ ।’ मल्लरानी गा.पा. ३ धनबासका कृषकले दुइ जातको (चौमासिक र त्रिशुल) सिमीको बीउ उत्पादन भएको बताउदै १० क्वीन्टल स्थानिय बजारमा विक्री भइसकेको र अरु ९ क्वीन्टल सिमी बाहिर पठाउने तयारमा रहेको उनले बताए । बरौला, सराङ्गबेशी र सालघारीमा गरी करिब ९ क्वीन्टल मुलाको बीउ उत्पादन हुने प्रमुख गिरीले बताए । उत्पादन भएको मध्ये राजमा ६ क्वीन्टल बीउ कृषकले पुन प्रयोगका लागि राखेका समेत उनले जानकारी दिए । कार्यालयले यसरी कृषकको बारीमै पुगेर खरिद विक्री गरिदिए पछि उनीहरु निकौ हर्षित भएको र आगामी सिजन दोब्बर उत्पादन गर्ने लक्ष्यका साथ काम गरेको प्रमुख गिरीको भनाइ छ ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page