समय : ११:२६ am | बिहिबार , फागुन २८ गते २०८२

आज काठमाण्डौसहित देशका धेरै ठाउँमा चिसो पहाडी क्षेत्रमा मौसम आंशिक बदली

स्वर्गद्वारी अपडेट | माघ ७ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि चिसो बढेको छ । मौसम बदली हुँदा र घाम नलाग्दा चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै ठाउँमा उच्चतम र न्यूनतम तापक्रम घटेका कारण पनि चिसो महसुस गरिएको महाशाखाका मौसमविद् बिनु महर्जनले बताउनुभयो । कतैकतै फाट्टफुट्ट हिमपात भएकाले पनि चिसो बढेको छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली र मधेस प्रदेश तथा प्रदेश एकमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । आज काठमाण्डौ उपत्यकामा बिहान न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको थियो । काठमाण्डौको उच्चतम तापक्रम हिजो १८ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस्तै जोमसोम, जिरी र जुम्लामा न्यूनतम तापक्रम माइनसमा रहेको छ । जोमसोममा माइनस ६ दशमलव ५, जुम्लामा माइनस ३ र जिरीमा माइनस १ दशमलव ३ डिग्री रहेको छ । पोखरामा ४ दशमलव ९, भैरहवामा ८, डडेलधुरामा ५, दिपायलमा ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो पनि पढ्नुहोस्