समय : ०५:३३ pm | शनिबार , श्रावण ९ गते २०८३

जन्मदिनको अवसरमा अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर सहयोग

सो अवसरमा क्लबको तर्फबाट बस्नेतलाई सम्मानस्वरूप प्रशंसा पत्र समेत प्रदान गरिएको थियो।

स्वर्गद्वारी अपडेट | श्रावण ९ गते २०८३

प्युठान।फजुल खर्च गरेर जन्मदिन मनाउने आधुनिक चलनलाई निरुत्साहित गर्दै आफ्नो जन्मदिनमा मानवीय कार्य गरेकी छिन्।प्युठान नगरपालिका वडा नम्बर १ खैरा कि समीक्षा बस्नेतले आफ्नो जन्मदिनको अवसरमा जिल्लाका ८ जना फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरूलाई ह्वीलचेयर सहयोग गरेकी हुन्।

लायन्स क्लब अफ प्युठानको आयोजनामा प्युठान नगरपालिका वडा नम्बर ४ बिजुवारस्थित जाल्पा देवी मन्दिर नजिकै रहेको श्री सत्य साई केन्द्रमा शनिबार एक कार्यक्रमका बीच उक्त सामग्री वितरण गरिएको हो।

ह्वीलचेयर प्राप्त गर्नेहरूमा मल्लरानी गाउँपालिकाका रामचन्द्र पुन, बोम बहादुर पुन, रिखा केसी मल्ल, कमला श्रेष्ठ, दुर्गा सुबेदी र अजय सुनार रहेका छन्। यसैगरी गौमुखी गाउँपालिका वडा नम्बर ६ लिवाङका टिका बहादुर खत्री र प्युठान नगरपालिका वडा नम्बर ४ का अभिषेक विकलाई पनि ह्वीलचेयर प्रदान गरिएको छ। हिँडडुल गर्न समस्या भोगिरहेका उनीहरूले ह्वीलचेयर पाएपछि खुसी व्यक्त गरेका छन्।

कार्यक्रममा लायन्स क्लब अफ प्युठानका अध्यक्ष चन्द्र बहादुर घर्तीले समीक्षा बस्नेतलाई जन्मदिनको शुभकामना दिँदै परोपकारी कार्यको प्रशंसा गरे। सो अवसरमा क्लबको तर्फबाट बस्नेतलाई सम्मानस्वरूप प्रशंसा पत्र समेत प्रदान गरिएको थियो।

सहयोगदाता समीक्षा बस्नेतका श्रीमान किशोर आचार्य मेडिकेयर सर्जिकलका प्रोपाइटर हुन्। उक्त वितरण कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले आ-आफ्नो धारणा राख्दै जन्मदिनलाई तडकभडक बिना समाजसेवामा जोडेर समीक्षाले उदाहरणीय कार्य गरेको बताएका थिए।

यो पनि पढ्नुहोस्