समय : ११:१४ am | सोमबार , भाद्र १ गते २०८३

आज नाग पञ्चमी: घरघरमा नागको पूजाआजा गरी श्रद्धापूर्वक मनाइँदै

देशभरका प्रमुख नाग मन्दिर तथा पोखरीहरूमा आज बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गर्दछ।

स्वर्गद्वारी अपडेट | भाद्र १ गते २०८३

काठमाडौँ- प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभर परम्परागत विधिअनुसार नाग तथा सर्पको पूजाआजा गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।

आजको दिन बिहानै स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि गोबरले नागको प्रतिमा बनाई वा नागको तस्विरमा दही, दूबो, कुश, सिन्दूर तथा चन्दन आदि चढाएर पूजा गर्ने गरिन्छ।

यसरी पूजा गरिएको नागको चित्र घरको मूलढोकामा टाँस्नाले सर्प वा नागको भय नहुने धार्मिक जनविश्वास रहेको छ।

नाग पञ्चमीका दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिक, कर्कट, शंख र शेषनाग लगायतका अष्टनागहरूको चित्र घरको ढोकामा टाँस्ने प्रचलन छ।

यसरी घरमा नागको चित्र टाँस्दा चट्याङ, आगलागी तथा सर्पदंशको जोखिमबाट जोगिन सकिने जनविश्वास छ।

स्कन्द पुराणमा समेत आजका दिन विधिवत् नागको पूजाआराधना गर्नाले सम्पूर्ण मनोकामना पूरा हुने उल्लेख गरिएको छ।

ज्योतिष शास्त्रीय मान्यता अनुसार आजको दिन कुनै पनि शुभ तथा मांगलिक कार्य गर्नका लागि छुट्टै साइत हेरिरहनु पर्दैन।

साथै, नयाँ घर वा भवन निर्माण गर्दा जमिनमा नागको वास भएमा विधिवत् पूजा गरेर पन्छाउनाले नागदोषबाट मुक्ति पाइने विश्वास गरिन्छ। मौसमी दृष्टिकोणले पनि श्रावण शुक्ल पञ्चमीदेखि वर्षायाम क्रमशः न्यून भई हिउँदको सुरुआत हुने मानिन्छ।

आजको दिन श्रद्धालुहरू दिनभर व्रत बसी सूर्यास्तपछि नाग देवताको मूर्ति वा प्रतिमामा फलफूल, मिष्ठान्न तथा प्रसाद चढाई पूजा गर्दछन्।

पूजा सम्पन्न भएपछि प्रसाद वितरण गर्ने र आफू पनि ग्रहण गर्ने गरिन्छ। देशभरका प्रमुख नाग मन्दिर तथा पोखरीहरूमा आज बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गर्दछ।

यो पनि पढ्नुहोस्