काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुईवटा रोमाञ्चक खेल हुँदैछन्।
आजको पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स दिउँसो १२:३० बजे आमनेसामने हुनेछन्। विराटनगरले हालसम्म पाँच खेलबाट ४ अङ्क जोडेको छ भने पाँच खेलमा २ अङ्क मात्र बनाएको पोखरा एभेन्जर्स अङ्क तालिकाको पुछारमा रहेका कारण जित निकाल्नैपर्ने दबाबमा छ। पोखराले यसअघि कर्णालीलाई पराजित गरेको थियो।
त्यस्तै आजको दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच साँझ पाँच:०० बजे प्रतिस्पर्धा हुनेछ। कर्णाली याक्स पाँच खेलबाट ४ अङ्क जोड्दै अङ्क तालिकाको छैटौँ स्थानमा छ भने पाँच खेलबाट ७ अङ्क बटुलेको लुम्बिनी लायन्स तेस्रो स्थानमा रहेको छ।
यसअघि मङ्गलबार सम्पन्न २१औँ खेलमा सुदूरपश्चिम रोयल्सले साविक विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिइसकेको छ। छ खेलबाट ८ अङ्क जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रहँदा, समान पाँच खेलबाट ८ अङ्क नै बनाएको काठमाडौँ गोर्खाज उत्कृष्ट नेट रनरेटका आधारमा शीर्ष स्थानमा कायम छ।
त्यस्तै पाँच खेलबाट ७ अङ्कसहित लुम्बिनी लायन्स तेस्रो र पाँच खेलबाट पाँच अङ्कसहित चितवन राइनोज चौथो स्थानमा छन्। तालिकाको तल्लो क्रममा विराटनगर किंग्स पाँच खेलमा ४ अङ्क, कर्णाली याक्स पाँच खेलमा ४ अङ्क र जनकपुर बोल्ट्स ६ खेलमा ४ अङ्क क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहेका छन्।








