चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारको बजेट खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
महालेखा नियन्त्रक कार्यालयको दैनिक प्राप्ति तथा भुक्तानी विवरणअनुसार कात्तिक २२ गतेसम्म सरकारले कुल बजेटको २३.११ प्रतिशत खर्च गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च २२.१२ प्रतिशत थियो।
चालु आर्थिक वर्षमा सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा कात्तिक २२ गतेसम्म चार खर्ब ९० अर्ब ९८ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ।
अघिल्लो वर्ष १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा सोही अवधिमा चार खर्ब ३४ अर्ब ३७ करोड ४६ लाख रुपैयाँ खर्च भएको थियो। यस वर्ष बजेटको आकार ८.१६ प्रतिशतले बढेको छ।
खर्चको शीर्षकगत अवस्था हेर्दा चालु खर्च सबैभन्दा बढी छ। चालु शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँमध्ये तीन खर्ब ४६ अर्ब २२ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ। यो कुल विनियोजनको २७.२५ प्रतिशत हो। अघिल्लो वर्ष सोही अवधिमा चालु खर्च २४.८३ प्रतिशत थियो।
पुँजीगत खर्च भने अझै कमजोर देखिएको छ। यस वर्ष पुँजीगत शीर्षकमा चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएकोमा कात्तिक २२ गतेसम्म ३२ अर्ब ४३ करोड ४० लाख रुपैयाँ मात्रै खर्च भएको छ।
यो विनियोजनको ७.५२ प्रतिशत हो। अघिल्लो वर्ष सोही अवधिमा पुँजीगत खर्च ५.७८ प्रतिशत थियो। यस वर्ष प्रगति १.७४ प्रतिशत विन्दुले बढे पनि विनियोजित बजेटको १० प्रतिशतसमेत खर्च हुन सकेको छैन।
वित्तीय व्यवस्थातर्फ भने चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ विनियोजन भएकोमा एक खर्ब १२ अर्ब ३४ करोड एक लाख रुपैयाँ खर्च भएको छ।
यो विनियोजनको २६.५८ प्रतिशत हो। अघिल्लो वर्ष सोही अवधिमा यस शीर्षकमा ३१.३४ प्रतिशत खर्च भएको थियो। यस वर्ष वित्तीय व्यवस्थातर्फको खर्च अघिल्लो वर्षको तुलनामा पाँच अर्ब २४ करोड रुपैयाँले घटेको छ।
राजस्व संकलनमा २७ प्रतिशतभन्दा बढी वृद्धि
बजेट खर्चको तुलनामा सरकारको राजस्व संकलनमा भने सुधार देखिएको छ। चालु आर्थिक वर्षको कात्तिक २२ गतेसम्म सरकारले तीन खर्ब ६६ अर्ब २४ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
यो वार्षिक लक्ष्यको २३.१८ प्रतिशत हो। अघिल्लो वर्ष सोही अवधिमा दुई खर्ब ८७ अर्ब ५६ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। त्यसबेला लक्ष्यको १९.४३ प्रतिशत मात्रै राजस्व उठेको थियो।
अघिल्लो वर्षको तुलनामा यस वर्ष राजस्व संकलन ७८ अर्ब ६८ करोड १६ लाख रुपैयाँले बढेको छ। रकमका आधारमा राजस्व संकलनमा २७.३६ प्रतिशत वृद्धि भएको हो। राजस्व संकलनको प्रगति पनि अघिल्लो वर्षको तुलनामा ३.७५ प्रतिशत विन्दुले बढेको छ।
कुल राजस्वमध्ये कर राजस्वको योगदान सबैभन्दा बढी छ। चालु आर्थिक वर्षमा कर राजस्वतर्फ १४ खर्ब तीन अर्ब ३१ करोड ८३ लाख रुपैयाँ लक्ष्य राखिएकोमा कात्तिक २२ गतेसम्म तीन खर्ब ४४ अर्ब ४५ करोड नौ लाख रुपैयाँ संकलन भएको छ। यो लक्ष्यको २४.५५ प्रतिशत हो।
अघिल्लो वर्ष सोही अवधिमा दुई खर्ब ६९ अर्ब ८३ करोड १० लाख रुपैयाँ कर राजस्व संकलन भएको थियो। यस वर्ष कर राजस्व ७४ अर्ब ६१ करोड ९९ लाख रुपैयाँले बढेको छ।
गैरकर राजस्व संकलन भने अपेक्षाकृत कमजोर छ। यस शीर्षकमा एक खर्ब ७७ अर्ब रुपैयाँ लक्ष्य राखिएकोमा हालसम्म २१ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ मात्रै संकलन भएको छ। यो लक्ष्यको १२.३१ प्रतिशत हो। अघिल्लो वर्ष सोही अवधिमा १७ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ गैरकर राजस्व संकलन भएको थियो।
अनुदान प्राप्तिमा पनि सुधार
अनुदान प्राप्तिमा पनि अघिल्लो वर्षको तुलनामा सुधार आएको छ। चालु आर्थिक वर्षमा ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखिएकोमा कात्तिक २२ गतेसम्म आठ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ प्राप्त भएको छ। यो लक्ष्यको १४.०८ प्रतिशत हो। अघिल्लो वर्ष सोही अवधिमा तीन अर्ब ४१ करोड ६९ लाख रुपैयाँ मात्रै अनुदान प्राप्त भएको थियो।
राजस्व, अनुदान र अन्य प्राप्ति जोड्दा चालु आर्थिक वर्षको कात्तिक २२ गतेसम्म सरकारको कुल प्राप्ति तीन खर्ब ७७ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो प्राप्ति दुई खर्ब ९३ अर्ब ३९ करोड नौ लाख रुपैयाँ थियो। यसरी कुल प्राप्तिमा २८.७१ प्रतिशत वृद्धि भएको छ।
चालु आर्थिक वर्षमा राजस्व, अनुदान र अन्य प्राप्तिसहित कुल १६ खर्ब ४२ अर्ब छ करोड ३७ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ। अघिल्लो वर्ष यस्तो लक्ष्य १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ थियो। कुल प्राप्तिको लक्ष्यमा यस वर्ष २३ प्रतिशत प्रगति भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो प्रगति १९.१३ प्रतिशत मात्रै थियो।








