समय : ०९:२९ pm | शुक्रबार , कार्तिक २८ गते २०८३

स्वर्गद्वारीमा शिक्षा नियमावली विपरीत शिक्षक काजमा

स्वर्गद्वारी अपडेट | कार्तिक २८ गते २०८३

प्युठान।स्वर्गद्वारी नगरपालिकाले शिक्षा नियमावलीको धज्जी उडाउदै विद्यालयका शिक्षकलाई पालिकाको शिक्षा शाखामा खटाएको छ।विद्यालयमा शिक्षक अभाव भइरहेका बेला प्राथमिक तहका शिक्षकलाई अध्यापनबाट हटाएर शिक्षा शाखामा राखिएको हो।

स्वर्गद्वारी नगरपालिका–२ स्थित बाल संस्कृत माध्यमिक विद्यालय, धरमपानीमा कार्यरत शिक्षक बसन्त खड्कालाई नगरपालिकाको शिक्षा शाखामा काजमा खटाइएको हो। शिक्षा नियमावलीको नियम १११ को उपनियम (४) मा विद्यालयबाहेक अन्य कुनै निकायमा शिक्षकलाई काजमा खटाउन नपाइने व्यवस्था रहेको छ।तर, उक्त व्यवस्थाको बेवास्ता गर्दै शिक्षकलाई शिक्षा शाखामा खटाइएको भन्दै स्थानीय शिक्षा क्षेत्रका सरोकारवालाले असन्तुष्टि जनाएका छन्।

विद्यालयमै शिक्षकको अभाव रहेको अवस्थामा कार्यरत शिक्षकलाई अध्यापनबाट अलग गरी शाखामा राख्नु विद्यार्थीको पठनपाठनमाथिको खेलवाड भएको एक शिक्षकले बताए। उनका अनुसार विद्यालयमा जनशक्ति अभावको समस्या समाधान गर्नुपर्ने बेला शिक्षकलाई प्रशासनिक काममा लगाउनु शैक्षिक हितविपरीत भएको समेत आरोप लगाए।

स्वर्गद्वारी नगरपालिकाका शिक्षा शाखा प्रमुख बासु खनालको अनुसार शाखामा ३ वटा दरबन्दी स्वीकृत भए पनि एक जना कर्मचारीले मात्र शाखा हेर्नुपर्ने हुन्थ्यो त्यो बखतमा शिक्षक खड्कालाई शाखामा काजमा खटाईएको हो अब उहाँलाई पुनः बिद्यालयमा पठाउने तयारि रहेको शाखा प्रमुख खनालले बताए।

शिक्षक खड्का तत्कालिन स्वर्गद्वारी नगरपलिका प्रमुख प्रशासकीय अधिकृत केशव भट्टराईको कार्यकालमा शाखामा जिम्मेवारी पाएका थिए।   

शिक्षा क्षेत्रको सुधार र विद्यालयमा गुणस्तरीय पठनपाठनको जिम्मेवारी बोकेको स्थानीय सरकारले नै नियमविपरीत निर्णय गरेको हो भने त्यसको जवाफदेहिता कसले लिने भन्ने प्रश्नसमेत उठेको छ।

यो पनि पढ्नुहोस्