समय : ११:२८ am | बिहिबार , फागुन २८ गते २०८२

देशका धेरै ठाउँमा तुवाँलो, सुदूरपश्चिम र कर्णालीका हिमाली जिल्लामा हिमपात

स्वर्गद्वारी अपडेट | माघ ६ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान, देशका धेरै ठाउँमा तुवाँलो लागेको छ । लामो समयदेखि पानी नपर्दा वायुमण्डलमा प्रदूषण थुप्रिदा तुवाँलो लागेको मौसमविद्ले बताएका छन् । यसपालिको हिउँदमा अहिलेसम्म जमिन भिज्ने गरी पानी परेको छैन । केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि जमिन भिज्ने गरी पानी नपर्दा सुक्खापन बढेको छ । केही दिनयता देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुँदै आएको छ । तर पानी भने पर्न सकेको छैन । हिजो बिहीवार सुदूरपश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी परेको थियो । आज शुक्रवार पनि कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काललाई जमिन भिज्ने गरी पानी पर्ने सम्भावना छैन । तर अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात भने भइरहेको छ । एक/दुई दिनको मौसम अब यस्तै रहने उहाँले बताउनुभयो । काठमाण्डौसहित पहाडी जिल्लाको मौसम पनि आंशिकदेखि सामान्य बदलीको अनुमान छ । अहिले तुवाँलो लागेका ठाउँमा बिहान १०/११ बजेपछि भने सफा हुँदै जाने मौसमविद् पौडेलले बताउनुभयो । मौसम बदली भइरहेकोले काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लाको अधिकतम तापक्रम पनि घट्न थालेको छ । काठमाण्डौको हिजोको अधिकतम तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम घट्न थालेकाले चिसो बढेको छ । यस्तै मौसमविद् वरुण पौडेलका अनुसार अहिले पूर्वी र मध्य तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेको छ । पश्चिम तराईमा भने मौसम सामान्यतया सफा नै रहेको उहाँले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्