स्वर्गद्वारी अपडेट, जयनगर–कुर्था रेलमार्गमा आजदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन जाने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार बिनातालिका रेल सेवा सञ्चालन गरिने बताएको छ ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले सूचना जारी गरी कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन जाने तीर्थालुको सुविधालाई ध्यानमा राखेर कात्तिक २१ देखि २३ गतेसम्म जयनगर–जनकपुरसम्म अनटाइम्ली सेवा सञ्चालन हुने जानकारी दिएको छ । कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठुलो संख्यामा नेपालका विभिन्न स्थानबाट तथा भारतीय शहरबाट समेत तीर्थालु आउँदा सो तीन दिन यात्रुको चाप बढ्न सक्ने भएकाले रेल सेवा अनटाइम्ली गरिएको प्रबन्ध सञ्चालक झाले बताउनुभयो ।
जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।








