समय : ०४:४३ pm | बुधबार , माघ २३ गते २०८१

प्युठानमा रोपाइँ सुरु :ट्याक्टर र मिनिटिलर हलो प्रयोग

सन्तोष सुनार | जेठ २९ गते २०८०

२९ जेठ। प्यूठानका कृषकहरुले वर्षेबाली धान रोपाई सुरु गरेका छन्। प्यूठान जिल्लाको झिमरुक फाँट र सिचाईं सुबिधा भएका ठाउँमा कृषकहरुले खेतमा धान रोपाई सुरु गरेका छन्। जिल्लाको झिमरुक फाँटको बाग्दुला ,विजुवार, क्वाडी, खैरा लगायतका ठाउँमा यतिबेला कृषकहरु धान रोप्ने तयारी गरिरहेका छन ।

नियमित वर्षा र पानीको सुविधा भएपछि रोपाई गर्न थालेको प्यूठानमा नगरपालिका वडा नं. २ का कृषक पुरन सुनारले बताए।झिमरुक फाँटमा  अधिकासं गहुँ छरेको र हिउदे बाली नलगाएको खेतमा जेठको दोस्रो साताबाट रोपाई सुरु भएको छ ।

जिल्लामा मार्सी, ताकमारे, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४,साबित्रि खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ। विगतका वर्षमा मजदुरको अभावका कारण खेतीबाली लगाउन र भित्र्याउन समस्या हुने गरेको थियो। अध्ययन, रोजगारी र व्यापार ब्यवसायका लागि शहरी क्षेत्रमा गएकाहरु यतिबेला  रोपाइँ गर्न गाउँ फर्किएका छन्।

परिवारका सबै सदस्य घरमै भएकाले खेतीबाली लगाउन सजिलो भएको प्यूठान नगरपालिका वडा नं. २का मोहन सिङ बिस्टले बताए।पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोग प्रति कृषकको आकर्षण बढेको छ।ठूला गह्रा भएका र फाँटका खेतमा बाँझो जोत्नेदेखि रोपाई गर्न हल गोरुको विकल्पमा मिनिटिलर र ट्याक्टरको प्रयोग गर्न थालेका छन्।

गोरुले एक दिनमा जोत्ने खेत ट्याक्टर र मिनिटिलरले एकै घण्टामा सक्ने हुँदा काम छिटो हुने सारिवाङका कृषक हेम बहादुर पुनले बताए।फुर्सदिलो समय सदुपयोग गरेर कतिपय कृषकहरुले वर्षौदेखि बाँझिएको खेतबारीमा झाडी फाडेर खाद्यान्न, दलहन र फलफुल खेती सुरु गरेका छन्। सिचाई सुविधाको विस्तार, गुणस्तरीय मल, विउको उपलब्धता, कृषकमा ब्यवसायिक भावनाको विकासका साथै यान्त्रिकरणको आवश्यकता रहेको कृषकहरु बताउँछन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्