दाङ । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ दुई दिन विभिन्न कार्यक्रम गरी मनाउने भएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले असोज २ र ३ गते सरसफाइ, राष्ट्रिय झण्डा सजावट तथा दीप प्रज्वलनलगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो। दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरिएको छ।
असोज २ गते प्रदेशका सबै सरकारी कार्यालयमा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। सोही दिन सरकारी कार्यालयमा राष्ट्रिय झण्डा राखी कार्यालय सजाउने र साँझ दीप प्रज्वलन गरिनेछ। प्रदेशवासीलाई समेत घरघरमा दीप प्रज्वलन गर्न आग्रह गरिने भएको छ।
असोज ३ गते पनि सरकारी कार्यालयमा राष्ट्रिय झण्डा राख्ने, कार्यालय सजाउने र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ। जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीलाई जिल्लामा आयोजना हुने संविधान दिवसका कार्यक्रममा अनिवार्य सहभागिता गराउने निर्णयसमेत गरिएको छ।








