प्युठान। झिमरुक नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुखी गाउँपालिका–४ वाग्लिवाङ स्थायी घर भई हाल प्यूठान नगरपालिका–४ बिजुवारमा डेरा गरी बस्दै आएका ४२ वर्षीय राजेश सुनार रहेका छन्।
प्रहरीका अनुसार ऐरावती गाउँपालिका–५ पकला छर्रा स्थित झिमरुक नदीमा डुबेको अवस्थामा सुनारको शव फेला परेको हो।
घटनापछि प्रहरीले खोजी गर्ने क्रममा बिजुवारस्थित गणतान्त्रिक खेल मैदान नजिक नदी किनारमा उनले प्रयोग गर्दै आएको लु १२ प ८३०० नम्बरको बजाज डिस्कभर मोटरसाइकल, चप्पल र मोबाइल बरामद गरेको जनाएको छ।
सुनार हिजो बेलुकादेखि डेराबाट सम्पर्कविहीन रहेका थिए। खोजतलासका क्रममा आज उनको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।








