प्युठान। गौमुखी गाउँपालिकाले सफ्टवेयर तथा सूचना प्रणाली सञ्चालन शीर्षकमा हार्डवेयर सामग्री खरिद गरेको छ।आर्थिक वर्ष २०८१/०८२ अन्त्य तिर सो शिर्षकनै फरक पारि सामग्री गरिएको हो।
पालिकाले विनियोजन गरिएको बजेटबाट ल्यापटप, सीपीयू, मोनिटर, सीसीटीभी, हार्डडिस्क र वाइफाइ ब्याकअप लगायतका हार्डवेयर सामग्री खरिद गरेको हो।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ (१) मा सरकारी रकम स्वीकृत बजेट तथा कार्यक्रमको सीमाभित्र रही खर्च गर्नुपर्ने स्पष्ट व्यवस्था छ। तर ६३ औं महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले यस आर्थिक वर्ष सफ्टवेयर तथा सूचना प्रणाली शीर्षकमा विनियोजित रु. ३ लाख ५१ हजार ९६ बजेट शतप्रतिशत हार्डवेयर सामग्री खरिदमै खर्च गरेको देखिएको छ।
प्रतिवेदनअनुसार गो.भौ. नं. ६३७, मिति २०८२ असार २० गते आयान ट्रेडर्सलाई रु. ३ लाख ५१ हजार ९६ भुक्तानी गरिएको छ।उक्त रकमबाट १ थान ल्यापटप, सीपीयू, मोनिटर, सीसीटीभी, हार्डडिस्क, वाइफाइ ब्याकअप लगायतका सामग्री खरिद गरिएको उल्लेख छ।
समाचार तयार पार्दा गौमुखी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत घनश्याम आर्याललाई सम्पर्क गर्न खोज्दा फोनमा २ पटक घन्टी बज्यो तर उठेन एकैछिनमा मोवाइल अफ भयो।
यस विषयमा लेखापरीक्षणले बजेट शीर्षक र खर्चको प्रकृतिबीच मेल नखाएको औंल्याउँदै खर्च सम्बन्धित कार्यक्रम तथा शीर्षकअनुसार मात्र लेख्नुपर्ने पालिकालाई निर्देशन दिएको छ।








