प्यूठान।प्यूठानमा आधारभुत सहकारी तालिम सञ्चालन भएको छ।माण्डवी गाउँपालिकाको सभाहलमा सोमबार देखि ४ दिने आधारभुत तालिम सञ्चालन भएको हो।
तालिममा सहकारीका आधारभुत पक्ष, कानुनी आयाम र सहकारीको व्यवस्थापकीय पक्षलाई मुख्य रुपमा प्रशिक्षण गरिने आयोजकले जनाएको छ।सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र नयाँ बानेश्वर काठमाण्डौको आयोजना साथै जिल्ला सहकारी संघ लि. प्यूठानको समन्वयमा सञ्चालन भएको तालिमको उद्घाटन माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी(रोशन) ले गरेका थिए।
कतिपय सहकारी सञ्चालकको व्यवस्थापकीय पक्ष कमजोर हुंदा सदस्यहरु मर्कामा परेको माण्डवी गाउँपालिका प्यूठानका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि नमराज अधिकारीले बताए। “सहकारीहरुले सदस्यहरुको भावना उजागर गर्न सक्नुपर्छ ।” अध्यक्ष अधिकारीले भने–“जुन उदेश्य बोकेर सहकारी स्थापना भएका छन् सोही अनुसार काम गरेमा सहकारीमा समस्या आउदैन ।” सहकारी प्रतिको बुझाइ साझा हुन जरुरी रहेको भन्दै ४ दिने तालिमले धेरैकुरा सिकाउने उनले बताए । तालिममा सहभागीहरुले आफुले सिकेका सवल पक्षहरु आफ्नो सस्ंथामा लागु गर्नु पर्ने अध्यक्ष अधिकारीले बताए । सहकारीको अस्थित्वलाई बलियो बनाउन तालिमले थप सहयोग तथा प्रेरणा मिल्ने समेत उनले बताए ।

कार्यक्रममा माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, प्रमुख प्रसाशकीय अधिकृत भिमकान्त भण्डारी, जिल्ला सहकारी संघका अध्यक्ष सुशील पोखरेलले समेत आफ्ना धारणा राखेका थिए ।
प्रशिक्षक रुपेशराज खनालको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका नि.प्राचार्य शोभा घिमिरेको अध्यक्षता रहेको थियो भने उद्घाटन सत्रको सञ्चालन प्रशिक्षक शिशिर रिजालले गरेका थिए।तालिममा विभिन्न प्रकृतिका सहकारीहरुबाट व्यवस्थापक र सञ्चालक समितिका पदाधिकारी गरी करिब ५० जनाको सहभागीता रहेको छ।








