समय : ०२:४८ pm | मङ्गलबार , असार १६ गते २०८३

विद्युत वितरण केन्द्रमा उपभोक्ताको ध्यानाकर्षण

स्वर्गद्वारी अपडेट | असार १५ गते २०८३

प्यूठान।नेपाल विद्युत प्राधिकरण विजुवार वितरण केन्द्रमा आज उपभोक्ताले ध्यानाकर्षण पत्र बुझाएका छन्।नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न, न्यून भोल्टेजको समस्या समाधान गर्न तथा अनियमित रूपमा हुने विद्युत अवरोध अन्त्य गर्न माग गर्दै प्यूठान नगरपालिका–३ का उपभोक्ताहरूले आज नेपाल विद्युत प्राधिकरण विजुवार वितरण केन्द्रमा पाँचबुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।

उपभोक्ताहरूले पछिल्लो केही समयदेखि जिल्लामा बारम्बार विद्युत अवरुद्ध हुने, न्यून भोल्टेजका कारण विद्युतीय उपकरण सञ्चालनमा समस्या हुने तथा सूचना बिना नै विद्युत काटिने क्रम बढेको भन्दै तत्काल समस्या समाधान गर्न माग गरेका हुन्।स्थानीय सुमन सुबेदीले विद्युत प्राधिकरणले महसुल तिर्न ढिलाइ हुँदा जरिवाना असुल्ने व्यवस्था गरे पनि सेवाप्रदायक संस्थाले भने पटक–पटक बिना सूचना विद्युत आपूर्ति अवरुद्ध गर्दा उपभोक्ताले सास्ती व्यहोर्नुपरेको गुनासो गरे।'हामीले एक दिन ढिला महसुल तिर्दा जरिवाना तिर्नुपर्छ।तर विद्युत प्राधिकरणले विभिन्न बहानामा पटक–पटक बिजुली काट्दा त्यसको जिम्मेवारी कसले लिन्छ?' उनले प्रश्न गरे।

यता नेपाल विद्युत प्राधिकरण विजुवार वितरण केन्द्रका एक कर्मचारीले प्राधिकरणले सेवा सुधारका लागि सक्दो प्रयास गरिरहेको बताए। उनका अनुसार पछिल्लो समय देशभर नै विद्युत लाइनमा लोड ओभरलोड हुने समस्या देखिएकाले बेला–बेलामा विद्युत आपूर्तिमा अवरोध हुने गरेको हो।

उनले वैशाखदेखि असारसम्मको खडेरीको समयमा विद्युत प्रणालीमा थप चाप पर्ने भएकाले कहिलेकाहीँ विद्युत आउने–जाने समस्या देखिन सक्ने उल्लेख गर्दै उपभोक्ताको समस्याप्रति प्राधिकरण गम्भीर रहेको बताए।

ध्यानाकर्षण पत्रमार्फत उपभोक्ताले नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न, न्यून भोल्टेजको समस्या समाधान गर्न, अनावश्यक लोडसेडिङ तथा पटक–पटक हुने लाइन अवरोध नियन्त्रण गर्न, विद्युत कटौतीबारे समयमै सूचना प्रवाह गर्न र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन माग गरेका छन्।

यो पनि पढ्नुहोस्