कात्तिक ५
स्वर्गद्वारी अपडेट समाचार डेक्स । धादिङमा भूकम्पका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी दर्बुङघाट केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो ।
भूकम्पको केन्द्रबिन्दु र आसपासका क्षेत्रका केही घरमा क्षति पुगेको छ ।ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैका अनुसार भूकम्पका कारण दुई वटा घरमा पूर्ण क्षति पुगेको छ भने १० वटा घरमा आंशिक क्षति भएको छ । अहिलेसम्म १२ वटा घरमा क्षति भएको विवरण आएको छ, थप क्षति भए/नभएको बारे हामी अनुगमन गर्दैछौँ’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार भूकम्पपछि वडा नम्बर ५ को एक ठाउँमा ठूलो पहिरोसमेत गएको छ । भूकम्प गएपछि बिहान त्यस क्षेत्रमा केहीबेर विद्युत् आपूर्ति बन्द भएको थियो । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिरै सुरक्षित बस्न भनिएको हो ।वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले भूकम्पपछि लगातारजसो परकम्प आइरहेकाले सचेत हुन आग्रह गर्नुभएको छ ।