स्वर्गद्धारी अपडेट, प्यूठान । जिल्लाको सरुमारानी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले मंगलबार पदभार ग्रहण गरेका छन । पदभार ग्रहण गरेकै दिन अध्यक्ष झग बहादुर विश्कर्मा र उपाध्यक्ष बसन्ता खडकाले नयाँ कार्यको योजनालाई अगाडी सारेका छन । अब सरुमारानी गाउपालिकाले भ्याकु, एम्बुलेन्स र स्कुलबस किन्ने भएको छ ।

नवनिर्वाचित अध्यक्ष विश्वकर्माले मंगलबार पदभार ग्रहण गर्दै सरुमारानी –४ स्थित जनता माद्यमिक बिद्यालयलाई स्कुल बस र वडा नंवर ६ मा एम्बुलेन्स खरिद गर्ने निर्णयमा हस्ताक्षर गरेका छन ।
त्यस्तै, उनले पालिका क्षेत्रभित्रका सडक निर्माण, विस्तार, स्तरवृद्धि र अन्य पूर्वाधारको कामका लागि आफ्नै भ्याकु र लोडर खरिद गर्ने निर्णय गरेका हुन ।

उनले २० युनिटसम्मको विद्युत् महसुल र लिफ्ट तथा सिचाई योजनाहरु संचालन गर्दा खपत हुने महसुलमा ५० प्रतिशत रकम गाउँपालिकाले भुक्तानी गरिदिने निर्णय समेत गरेका छन। त्यसैगरी, खरको छानो भएका घरपरिवारलाई जस्तापाता उपलब्ध गराउने पनि विश्वकर्माले निर्णय गरेका छन।