समय : ०४:२८ pm | बिहिबार , भाद्र २५ गते २०८३

प्यूठान प्रहरीको तथ्यांक:२४ मुद्दा दर्ता, २२ बाँकी, ४० जना हिरासतमा

स्वर्गद्वारी अपडेट | भाद्र २५ गते २०८३

प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले चालु आर्थिक वर्ष २०८३/०८४ को भदौ २१ गतेसम्म जिल्लामा २४ वटा मुद्दा दर्ता भएकोमा दुई वटा फर्छ्यौट र २२ वटा मुद्दा बाँकी रहेको जनाएको छ। प्रहरीका अनुसार सो अवधिमा विभिन्न घटनामा संलग्न ४० जनालाई पक्राउ गरी अनुसन्धानका क्रममा २४ घण्टा हिरासतमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले २२ भदौमा आयोजित प्रेस मिटमा जिल्लाको अपराध अनुसन्धान, पक्राउ, फरार अभियुक्त तथा विभिन्न सुरक्षा गतिविधिबारे जानकारी गराएका हुन्।

प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भवितव्य ज्यानसम्बन्धी सात, आत्महत्यासम्बन्धी आठ, फुटकर ज्यानसम्बन्धी दुई, बैंकिङ कसुर तीन तथा चोरी, सार्वजनिक अंगभंग र तेजाब प्रयोग गरी अंगभंगसम्बन्धी एक–एक मुद्दा दर्ता भएका छन्।

रुसुवा गएका ९ जना सम्पर्कविहीन

यसैबीच, कामको सिलसिलामा रुसुवा क्षेत्रमा गई सम्पर्कविहीन भएका प्यूठानका व्यक्तिहरूको विवरणसमेत प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीका अनुसार सम्पर्कविहीन मध्ये केही व्यक्ति जलविद्युत् आयोजनामा कार्यरत थिए भने केही अन्य क्षेत्रमा काम गर्दै आएका थिए।

सम्पर्कविहीन सूचीमा पिताम्बर श्रेष्ठ, सूर्यबहादुर केसी, सन्तोष पौडेल, किसान सोमै मगर, बोमबहादुर पुन, प्रकाश जिसी, जोमबहादुर ठेकी मगर, राजेन्द्र महत्तरा र कृष्णा बुढा मगर रहेका छन्। यीमध्ये केहीको पहिचानका लागि प्रहरीले डीएनए संकलन गरी परीक्षणका लागि पठाएको जनाएको छ।

प्रहरीले यसै घटनासँग सम्बन्धित सूचीमा रहेका प्रताप जिसी र विक्रम पुन सम्पर्कमा आइसकेको उल्लेख गरेको छ।

साइबर ठगीमा ९ लाखभन्दा बढी रकम

प्रहरीका अनुसार चालु आर्थिक वर्षमा साइबर अपराधतर्फ १९ वटा निवेदन परेकोमा चार वटा फर्छ्यौट भएका छन्। ती घटनामा ठगी भएको रकम ९ लाख १३ हजार ३०९ रुपैयाँ रहेकोमा हालसम्म १ लाख ४९ हजार ५०० रुपैयाँ फिर्ता भएको छ। अझै ७ लाख ६३ हजार ८०९ रुपैयाँ फिर्ता हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

यस अवधिमा एउटा फेसबुक आईडी ह्याकसम्बन्धी निवेदन परेको र उक्त आईडी बन्द गरिएको प्रहरीले जनाएको छ।

अवैध हतियार नियन्त्रणमा

प्रहरीले चालु आर्थिक वर्षको भदौ २१ गतेसम्म विभिन्न स्थानबाट लुकाइछिपाइ राखिएका भरुवा बन्दुक तथा अन्य हतियार गरी ७१ नाल/थान नियन्त्रणमा लिएको जनाएको छ। अघिल्लो करिब १० महिनाको अवधिमा भने १५१ नाल हतियार नियन्त्रणमा लिएको तथ्यांक प्रहरीले प्रस्तुत गरेको छ।

समुदायमा प्रहरीको सक्रियता बढ्यो

प्रहरीले नागरिक सुनुवाइ, लागुऔषध नियन्त्रण, लैंगिक हिंसा, साइबर अपराध तथा आत्महत्या न्यूनीकरणलगायत विषयमा जिल्लाभर १६५ वटा सामुदायिक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रममा १ हजार ५७७ महिला र १ हजार ५२२ पुरुष गरी ३ हजार ९९९ जना लाभान्वित भएको प्रहरीको तथ्यांक छ।

यस्तै, चालु आर्थिक वर्षमा प्रहरीले ८ सय ९९ वटा एसआरपी र तीन वटा एलआरपी गस्ती गरेको छ। बजार अनुगमनका क्रममा म्याद नाघेका सामानसमेत नष्ट गरिएको प्रहरीले जनाएको छ।

समग्रमा प्रहरीको तथ्यांकले प्यूठानमा अपराध अनुसन्धानसँगै साइबर ठगी, अवैध हतियार, फरार अभियुक्त र सम्पर्कविहीन व्यक्तिको खोजीलाई चुनौतीका रूपमा देखाएको छ।

यो पनि पढ्नुहोस्