जिबन हमाल / प्युठान। स्वर्गद्वारी नगरपालिका–४ भिंग्रीमा दोस्रो स्वर्गद्वारी कृषि तथा सांस्कृतिक पर्यटन व्यापार महोत्सव–२०८३ शुक्रबार देखि संचालनमा आएको छ। तर सो मेलाले करसम्बन्धी अनिवार्य प्रक्रिया पूरा नगरी तीन दिनदेखि सञ्चालन भइरहेको छ।
महोत्सवको आयोजक स्वर्गभूमि यातायात प्रालिले कर कार्यालयबाट अस्थायी भ्याट दर्ता प्रमाणपत्र नलिएको पुष्टि भए पनि महोत्सव रोक्ने, कर प्रक्रिया पूरा गराउने वा कारोबारको अनुगमन गर्ने विषयमा सम्बन्धित निकायले अहिलेसम्म ठोस कदम चालेको देखिएको छैन।
कर दर्ताबिनै व्यापारिक गतिविधि भइरहेको तथ्य सार्वजनिक हुँदा पनि महोत्सव तीन दिनसम्म सञ्चालन हुनु र नियमनकारी निकायको मौनता रहनु गम्भीर बिषय भएको सरोकारवाला बताउछन।
महोत्सवमा ३ दिन सम्म टिकट बिक्री, स्टल भाडा तथा अन्य व्यापारिक कारोबार भइरहेका छन्। तर, राज्यलाई बुझाउनुपर्ने करको दायित्व पूरा गरिएको छ वा छैन भन्ने विषयमा आयोजकको स्पष्ट जवाफ छैन। कर कार्यालयबाट अस्थायी भ्याट दर्ता नलिएको पुष्टि भइसकेपछि महोत्सवमा भइरहेको आर्थिक कारोबारको वैधानिकता र कर व्यवस्थापनमाथि प्रश्न उठेको हो।
महोत्सव सञ्चालनका लागि स्वर्गद्वारी नगरपालिकाले कार्यपालिका बैठकबाट अनुमति दिएको छ भने जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्थापनका लागि अनुमति प्रदान गरेको छ। शुक्रबार नगरप्रमुख टेकप्रसाद भण्डारीले महोत्सव उद्घाटन समेत गरिसकेका छन्। तर, अनुमति दिने नगरपालिका र सुरक्षा व्यवस्थापनका लागि सक्रिय प्रशासनले महोत्सवको करसम्बन्धी वैधानिकता तथा आयोजकले पूरा गर्नुपर्ने अनिवार्य प्रक्रिया सुनिश्चित गरे नगरेको विषयमा अहिलेसम्म सार्वजनिक जवाफ दिएको छैन।
अनुमति दिने नगरपालिका जिम्मेवारीबाट पन्छिन मिल्छ ?
महोत्सव सञ्चालनको अनुमति नगरपालिकाले दिएको हो।व्यापारिक गतिविधि हुने कार्यक्रम सञ्चालन गर्दा कानुनी प्रक्रिया पूरा भएको छ वा छैन भन्ने विषयमा सम्बन्धित निकायको निगरानी अपेक्षित हुन्छ। कर दर्ताबिनै कारोबार भइरहेको तथ्य बाहिरिँदा नगरपालिकाले आयोजकसँग करसम्बन्धी कागजात माग गरेको छ कि छैन, अनुमति दिँदा यस्ता प्रक्रिया जाँच गरिएको थियो कि थिएन र अहिले अनियमितताको प्रश्न उठेपछि के कदम चालिएको छ भन्ने विषय स्पष्ट हुन सकेको छैन।
नगरप्रमुखले महोत्सव उद्घाटन गरेको तर कर दर्ताको विषय सार्वजनिक हुँदा नगरपालिकाको स्पष्ट धारणा नआउनुले स्थानीय सरकारको नियमनकारी भूमिकामाथि प्रश्न उठाएको छ।
प्रशासन सुरक्षा दिन सक्रिय, करको प्रश्नमा जिम्मेवारी कसको ?
जिल्ला प्रशासन कार्यालय प्युठानका निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईले नगरपालिकाको अनुमति पत्रका आधारमा सुरक्षा प्रयोजनका लागि अनुमति दिइएको बताएका छन्। प्रशासनको अनुमति सुरक्षा व्यवस्थापनसँग सम्बन्धित रहेको उनको भनाइ छ।
तर, व्यापारिक महोत्सवमा करसम्बन्धी प्रक्रिया पूरा नगरेको तथ्य सार्वजनिक भएपछि सम्बन्धित निकायबीच समन्वय हुनुपर्ने हो कि होइन भन्ने प्रश्न उठेको छ। प्रशासनले सुरक्षा व्यवस्थापनको जिम्मेवारी निर्वाह गरे पनि करसम्बन्धी विषयमा सम्बन्धित निकायलाई जानकारी गराउने वा समन्वय गर्ने भूमिका कस्तो रह्यो भन्ने विषय सार्वजनिक हुन सकेको छैन।
कर कार्यालयको पुष्टि, आयोजकको जवाफ बेपत्ता
कर कार्यालय तुलसीपुरका सूचना अधिकारी उपेन्द्रबहादुर पुनले आयोजक स्वर्गभूमि यातायात प्रालि प्युठानले महोत्सवका लागि अस्थायी भ्याट दर्ता नगरेको स्पष्ट पारेका छन्। कर कार्यालयबाट दर्ता नभएको पुष्टि भएपछि महोत्सवमा संकलन भइरहेको रकम, टिकट बिक्री, स्टल भाडा तथा अन्य कारोबारको विवरण सार्वजनिक गर्नुपर्ने दबाब आयोजकमाथि बढेको छ।
आयोजक संस्थाका अध्यक्ष पुरन पुनसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनले पछि कुरा गर्ने भन्दै फोन काटेका थिए। पुनः सम्पर्क गर्दा उनको मोबाइल स्वीच अफ रहेको थियो। कर दर्ता नगरेको विषयमा आयोजकको आधिकारिक धारणा प्राप्त हुन सकेको छैन।
उद्योग वाणिज्य संघको समन्वय कहाँ ?
स्थानीय व्यवसायीको हकहित संरक्षण गर्ने तथा व्यापारिक गतिविधिमा समन्वय गर्ने जिम्मेवारी बोकेको प्युठान उद्योग वाणिज्य संघसमेत यस विषयमा स्पष्ट रूपमा अगाडि आएको छैन। संघका अध्यक्ष सन्देश आचार्यले महोत्सव सञ्चालनमा समन्वय आवश्यक रहेको बताएका छन्। तर, करसम्बन्धी अनिवार्य प्रक्रिया पूरा नगरेको विषयमा संघको ठोस धारणा सार्वजनिक भएको छैन।
स्थानीय व्यवसायीले नियमित रूपमा कर तथा व्यवसायसम्बन्धी दायित्व पूरा गर्नुपर्ने अवस्थामा महोत्सवका नाममा हुने व्यापारिक कारोबारले पनि कानुनी प्रक्रिया पालना गर्नुपर्ने विषयमा संघले स्पष्ट भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ।
कानुनी प्रक्रिया मिचिएको हो भने कारबाही कसले गर्ने?
मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा नियमावली, २०५३ अन्तर्गत अस्थायी मेला, प्रदर्शनी तथा यस्तै प्रकृतिका कारोबारमा कर दर्तासम्बन्धी व्यवस्था रहेको छ। महोत्सवमा टिकट शुल्क, स्टल भाडा तथा अन्य व्यापारिक कारोबार भइरहेका बेला कर दर्ता नगरेको तथ्य सार्वजनिक हुनु सामान्य प्रशासनिक कमजोरी मात्रै होइन, कर दायित्व र कारोबारको पारदर्शितासँग जोडिएको विषय हो।
आयोजकले कर दर्ता किन गरेन? महोत्सवबाट कति रकम संकलन भइरहेको छ? टिकट बिक्री र स्टल भाडाको हिसाब कसरी राखिएको छ? कर कार्यालयले अब कारोबारको विवरण जाँच गर्नेछ कि छैन? नगरपालिका र प्रशासनले यस विषयमा समन्वय गर्नेछन् कि फेरि जिम्मेवारी एकअर्कामाथि पन्छाउनेछन्? यी प्रश्नको जवाफ अहिले पनि सार्वजनिक भएको छैन।







