समय : ०८:२९ am | आइतबार , मंसिर १३ गते २०८३

स्वर्गद्वारीमा भ्याटबिनै महोत्सवको व्यापार, नगरपालिका, उद्योग वाणिज्य संघ र प्रशासनको मौनता

आयोजकको कर दर्ता, आर्थिक कारोबार र सम्बन्धित निकायको भूमिकाबारे तत्काल छानबिन गरी सार्वजनिक गर्नुपर्ने माग उठेको छ।

स्वर्गद्वारी अपडेट | मंसिर १२ गते २०८३

जिबन हमाल / प्युठान। स्वर्गद्वारी नगरपालिका–४ भिंग्रीमा सञ्चालित दोस्रो स्वर्गद्वारी कृषि तथा सांस्कृतिक पर्यटन व्यापार महोत्सव–२०८३ करसम्बन्धी अनिवार्य प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको खुलेको छ। महोत्सव आयोजक स्वर्गभूमि यातायात प्रालिले कर कार्यालयबाट अस्थायी भ्याट दर्ता प्रमाणपत्र नै लिएको छैन।

नगरपालिकाले कार्यपालिका बैठकबाट महोत्सव सञ्चालनको अनुमति दिएको छ भने जिल्ला प्रशासनले सुरक्षा व्यवस्थापनका लागि अनुमति दिएको छ। तर, व्यापारिक कारोबार हुने महोत्सवको करसम्बन्धी वैधानिकता जाँच गर्ने जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ। नगरप्रमुख टेकप्रसाद भण्डारीले महोत्सव उद्घाटन गरिसक्दा पनि आयोजकको कर दर्ताको विषय ओझेलमा परेको छ।

स्थानीय व्यवसायीको हकहित संरक्षण गर्ने जिम्मेवारी बोकेको प्युठान उद्योग वाणिज्य संघसमेत यस विषयमा मौन छ। संघका अध्यक्ष सन्देश आचार्यले महोत्सव सञ्चालनमा समन्वय आवश्यक रहेको बताए पनि कर प्रक्रिया पूरा नगरेको विषयमा संघको ठोस धारणा सार्वजनिक भएको छैन।

जिल्ला प्रशासनका निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईले नगरपालिकाको अनुमति पत्रका आधारमा सुरक्षा प्रयोजनका लागि अनुमति दिइएको बताएका छन्। उता, कर कार्यालय तुलसीपुरका सूचना अधिकारी उपेन्द्रबहादुर पुनले आयोजकले महोत्सवका लागि अस्थायी भ्याट दर्ता नगरेको स्पष्ट पारेका छन्।

आयोजक संस्थाका अध्यक्ष पुरन पुनसँग प्रतिक्रिया लिन खोज्दा उनले पछि कुरा गर्ने भन्दै फोन काटेका थिए। पुनः सम्पर्क गर्दा मोबाइल स्वीच अफ थियो।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा नियमावली, २०५३ ले अस्थायी मेला तथा प्रदर्शनीका कारोबारमा कर दर्तासम्बन्धी व्यवस्था गरेको छ। तर, महोत्सवमा उठ्ने टिकट शुल्क, स्टल भाडा र अन्य व्यापारिक कारोबारको कर व्यवस्थापन कसरी भइरहेको छ भन्ने प्रश्न अनुत्तरित छ।

महोत्सव उद्घाटनमा जनप्रतिनिधिको उपस्थिति, सुरक्षामा प्रशासनको सक्रियता र समन्वयमा उद्योग वाणिज्य संघको प्रतिबद्धता देखिए पनि करको सवालमा सबैको मौनता किन?

आयोजकको कर दर्ता, आर्थिक कारोबार र सम्बन्धित निकायको भूमिकाबारे तत्काल छानबिन गरी सार्वजनिक गर्नुपर्ने माग उठेको छ।

यो पनि पढ्नुहोस्