प्युठान। माण्डवी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा विविध खर्च शीर्षकबाट २७ लाख रुपैयाँ खर्च गरेकोमध्ये १० लाख ५५ हजार ६ सय ४४ रुपैयाँको प्रयोजन खुलाउन नसकेको पाइएको छ।
महालेखा परीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ ले विविध खर्च आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा गर्नुपर्ने व्यवस्था गरेको छ।तर गाउँपालिकाले विविध खर्चको विस्तृत विवरण नखुलाएको भन्दै महालेखाले औल्याएको हो।
प्रतिवेदनअनुसार गाउँपालिकाले विविध खर्च शीर्षकमा पालिकातर्फ १७ लाख र वडा कार्यालयतर्फ १० लाख गरी कुल २७ लाख रुपैयाँ खर्च गरेको छ।उक्त खर्च कार्यपालिका तथा कर्मचारीका विभिन्न बैठक, फिल्ड अनुगमन, कार्यालय समयअघि–पछि बसेर गरिएको काम, अतिथि सत्कार, चिया, खाजा र खानालगायतमा भएको उल्लेख गरिएको छ।
महालेखाले नमुना छनोटका आधारमा गोश्वारा भौचर परीक्षण गर्दा खर्च कुन कार्यक्रम वा प्रयोजनका लागि गरिएको हो भन्ने स्पष्ट विवरण नराखिएको जनाएको छ।
प्रतिवेदनमा विभिन्न होटलमा गरिएको खाना–खाजा खर्च, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको खाना–खाजा, न्यायिक समितिको बैठक भत्तालगायत शीर्षकमा १६ लाख ४४ हजार ३ सय ५६ रुपैयाँ खर्च भएको विवरण मात्रै उल्लेख गरिएको छ।बाँकी १० लाख ५५ हजार ६ सय ४४ रुपैयाँ कुन प्रयोजनमा खर्च भयो भन्ने विवरण पेश नगरिएको महालेखाले औंल्याएको छ।
महालेखा परीक्षकको कार्यालयले विविध खर्च गर्दा आन्तरिक आयको सीमाभित्र रही प्रत्येक खर्चको स्पष्ट प्रयोजन खुलाउन, आवश्यक प्रमाण संलग्न गर्न तथा यस्ता खर्चमा मितव्ययिता अपनाउन गाउँपालिकालाई निर्देशन दिएको छ।







