प्युठान।बर्खायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण सास्ती खेप्दै आएका चेरनेटा–सालघारी क्षेत्रका स्थानीय अहिले सहज र सुरक्षित सडक यात्राको अनुभव गर्न थालेका छन्। प्युठान नगरपालिकाको 'एक वडा, एक कालोपत्रे' अभियान अन्तर्गत चेरनेटा–सालघारी–धाईरेचौर हुँदै स्वर्गद्वारी नगरपालिका–८ दहचौर (बर्जिवाङ) जोड्ने सडकको ३ किलोमिटर खण्ड कालोपत्र सम्पन्न भएको हो।
विगतका वर्षायाममा सडक हिलाम्मे हुँदा सवारीसाधन चिप्लिने, बीच बाटोमै फस्ने र यात्रुहरूलाई निकै सास्ती हुने गरेको थियो स्थानीय सुनिल सापकोटाकाले बताए। 'हिउँदमा अत्यधिक धुलो उड्दा सडक आसपासका बस्ती, स्थानीय बासिन्दा तथा यात्रुसमेत प्रभावित हुने गरेका थिए।' उनले भने,'चेरनेटा, सालघारी र धाईरेचौर क्षेत्रमा करिब पाँच सय घरधुरी बसोबास गर्छन्।' अहिले सडक कालोपत्र भएपछि वर्षायाममा समेत सहज रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्। विशेषगरी तीनपांग्रे अटोसमेत नियमित रूपमा गुड्न थालेका सापकोटाले बताए।
प्युठान नगरपालिकाका इन्जिनियर प्रेम आचार्यका अनुसार सडकमा प्रिमिक्स कार्पेट कालोपत्रसँगै आवश्यक स्थानमा ढलान, नाला तथा अन्य सहायक संरचनासमेत निर्माण गरिएको छ।आर्थिक वर्ष २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ गरी तीन आर्थिक वर्षमा २ करोड ५० लाख रुपैयाको लागतमा ३ किमी सडक कालोपत्रे गरिएको इन्जिनियर आचार्यको भनाई छ। उक्त योजना लुम्बिनी प्रदेश सरकारको समपूरक बजेटमार्फत कार्यान्वयन गरिएको हो।
चेरनेटा–सालघारी–धाईरेचौर हुँदै स्वर्गद्वारी नगरपालिका–८ दहचौर (बर्जिवाङ) सम्म ९ किलोमिटर सडक मध्ये ३ किमी कालोपत्रे निर्माण कार्य सम्पन्न भएको हो।
स्थानीयले सडक स्तरोन्नतिसँगै यातायात सेवा नियमित हुनुका साथै कृषि उपज ढुवानी, व्यापारिक गतिविधि, स्वास्थ्य सेवा तथा शैक्षिक पहुँचमा समेत सकारात्मक प्रभाव परेको बताएका छन्।







