प्यूठान । प्यूठानमा प्रथम भित्रिकोट महोत्सव २०८१ सञ्चालन हुने भएको छ । प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सव प्यूठान नगरपािलका ७ टिकुरी बसपार्क झोलुङ्गे पुल नजिकैको मैदानमा लाग्ने छ ।
“कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध नगरको बलियो आधार” भन्ने मुलनाराका साथ २०८१ पौष ५ देखि १७ गतेसम्म महोत्सव सञ्चालन गरिने भएको आयोजकले जनाएको छ । आइतवार पत्रकार सम्मेलन गर्दै जिल्लाको कृषि, पर्यटनको प्रवर्धनका साथै नगर बजार क्षेत्रको सचिवालय भनव निर्माण गर्ने मुख्य उदेश्यका साथ महोत्सव सञ्चालन गर्न लागेको नगर बजार क्षेत्रका अध्यक्ष प्यारअली खानले बताए । ‘महोत्सव सकिएको एक महिना भित्रै हामीले सचिवालय भवन उद्घाटन गर्नेछौं ।’ अध्यक्ष खानले भने–‘महोत्सव मैदान भित्र सो अवधिभर ठुलो डिस्प्लेमा प्यूठान जिल्लाकै डकुमेन्ट्री प्रदर्शन गरिने छ ।’ महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गर्ने र २ करोड बराबरको कारोबार गरिने लक्ष्य राखेको समेत उनले बताए ।
जिल्लाका सबै स्थानिय तहहरुले एकीकृत गरेर कृषकले उत्पादन गरेका बस्तुलाई स्टल सम्म ल्याउन व्यवस्था गर्न आयोजकले अनुरोध गरेको छ । सबै स्थानिय तहको विशेष खालमा कृषिजन्य वस्तुलाई विक्रि गर्नका लागि कृषकलाई निशुल्क स्टल उपलब्ध गराइने र जिल्लाका व्यापारिहरुले ५० प्रतिशत छुटमा स्टल पाउने व्यवस्था गरिएको अध्यक्ष खानले जानकारी दिए । सर्बसाधारणका लागि ८० रुपैया टिकट शुल्क लाग्ने छ भने विद्यार्थीलाई ५० रुपैया लिने र जेष्ठ नागरिक, असाय, अशक्तहरुको लागि निशुल्क रुपमा हेर्न पाउने व्यवस्था मिलाएको समेत उनले बताए ।