समय : ०९:०४ am | शनिबार , श्रावण १२ गते २०८१

सडक मर्मत र सुधारपछि स्वर्गद्वारी पुग्न सहज हुँदै

स्वर्गद्वारी अपडेट | वैशाख ३१ गते २०८१

प्युठान।प्यूठानको मुख्य धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी पुग्ने भिंग्री–स्वर्गद्वारी सडक यतिबेला धमाधम मर्मत हुँदैछ । सडक मर्मत र सुधारपछि स्वर्गद्वारी पुग्न दर्शनार्थीलाई सजिलो भएको छ ।

साँघुरो सडक र घुम्तीका कारण यहाँ बारम्बार दुर्घटना हुने गरेका छन्।यसबाहेक भिंग्री–स्वर्गद्वारी सडकमा वर्षेनी अकालमै धेरैको ज्यान जाने गरेको छ । सडक अप्ठ्यारो हुँदा अधिकांश भक्तजन दाङको घोराही हुँदै स्वर्गद्वारी आउने गरेका छन् ।

अहिले भिंग्री देखि स्वर्गद्वारीसम्मको १४ किलोमिटर सडकमा सडक सुरक्षा र मर्मतको काम भएकाले यात्रा गर्दा सजिलो भएको स्वर्गद्वारी नगरपालिका -२ का  भिम बहादुर रानाले बताए ।सडक मर्मत तथा सडक सुरक्षाको काम हुँदै गर्दा स्वर्गद्वारी आउने दर्शनार्थीको चाप बढेको छ ’ उनले भने –‘ स्वर्गद्वारीको आधार शिविर भिङ्गृदेखि स्वर्गद्वारीसम्मको करिब १४ किलोमिटर पक्की सडकमा सडक सुरक्षाको कामसमेत  सम्पन्न हुन् लाग्दा आफुहरु खुसी लागेको उनको भनाई छ ।’

सडक डिभिजन कार्यालय प्युठान र सडक पूर्वाधार विकास कार्यालय प्युठानले यस चालु आर्थिक वर्षमा करोडौँ रुपियाँको लगानीमा सडक सुरक्षाको कामका लागि बजेट विनियोजन गरी काम गरेका छन् । सडक डिभिजन कार्यालय प्युठानका प्रमुख इन्जिनियर राजीव श्रेष्ठले ८ करोड ९४ लाख ६७ हजारमा ठेक्का सम्झौता भएर सडक सुरक्षाको काम अन्तिम चरणमा पुगेको बताए।गत वर्ष सडक दुर्घटना भएपछि सडक सुरक्षाका लागि ट्राफिक सङ्केत, सडक छेउमा रेलिङ राख्ने काम भएको छ ।

सडक पूर्वाधार विकास कार्यालय प्युठानका निमित्त प्रमुख इन्जिनियर चन्द्रबहादुर शाहले भिङ्ग्री–स्वर्गद्वारीको घडेरी र रुमाले खण्डमा सडक पूर्वाधार विकास कार्यालयले काम गरिरहेको जानकारी दिए।अघिल्लो वर्ष वर्षातले बाटो पहिरो गएर साँघुरो भएको ठाउँमा पर्खाल लगाएर बाटो सुधार गरिएको उनको भनाइ छ ।करिव ४ करोड रुपियाँको लागतमा पर्खाल, पहिरो नियन्त्रण, सडक छेउमा रेलिङ र भत्किएको कालोपत्रे मर्मतलगायतका काम अन्तिम चरणमा रहेको शाहले जानकारी दिए। 

आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म उक्त सडकखण्डमा ठूला ८ वटा सवारी दुर्घटनामा ३० जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा २१ जना घाइते हुँदा पाँच वर्षको अवधिमा ७ महिला, १७ पुरुष र ६ बालक गरी ३० जनाले ज्यान गुमाएको प्रहरीको तथ्याकंमा छ । २०६४ सालमा ट्र्याक खुलेको भिंग्री–स्वर्गद्वारी सडक २०७५ सालमा कालोपत्र भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page