समय : ०२:३७ pm | शनिबार , श्रावण १२ गते २०८१

आठ वर्षसम्म बन्न सकेन खैरा जोड्ने पक्की पुल

राधिका भुषाल | फागुन ७ गते २०८०

प्यूठान।सामान्यतय ठेक्का सम्झौता भएको दुइ तिन वर्षभित्र ठुल्ठुला योजनाको काम सम्पन्न भइसकेको हुन्छ।तर, प्यूठान भालुवाङ सडक खण्डमा जोडिने खैरा–दाखाक्वाडी पक्की पुलको काम सुरु भएको आठवर्ष पुग्दा समेत योजना सम्पन्न भएको छैन।गत आर्थिक वर्ष २०७२/०७३ सालमा काम सुरु भएको थियो।

प्यूठान नगरपालिका– १ को सुन्दर बस्ती खैरा र नगरपालिका २ को दाखाक्वाडी जोडन् झिमरुक नदीमा पुल निर्माणको योजना परेसंगै खैरावासीहरु निकै खुसी भएका थिए । वर्षौपछि उनीहरुको समस्या समाधानको लागि पुल निर्माण हुदै थियो । सुरुवातका दिनहरुमा निकै खुसी भएका स्थानियहरु निर्माधिन पुल अलपत्र अवस्था रहेको देख्दा दिक्क परेको बताउछन् । ‘सम्झौता अवधी नागिसकेको पनि धेरै भयो ।’ स्थानिय वासी छन्द बहादुर बस्नेतले भने– ‘हामी सडक डिभिजनमा डेलिगेसन पनि गएका छौं । ठेकेदारसंग छलफल भएको छ अब तुरुन्तै काम सम्पन्न गर्ने सहमति भएको छ ।’ २०८१ बैशाख सम्म काम सम्पन्न गर्ने ठेकेदारले बचन दिएको बस्नेतले बताए । योजनाका लागि रकम अभाव भएपछि काम रोकिएको र काम सम्पन्न नहुनुमा सरकार पक्षको कमजोरी रहेको बस्नेतको भनाइ छ । 

त्यस्तै सोही निवासी चन्द्र बस्नेतले बर्खाको समय झोलुङ्गे पुलको चिप्लो बाटो हिड्न धेरै गाह्रो भएको बताए । ‘काम पुनः सुरु भएको छ ।’ बस्नेतले भने–‘अब छिटै सम्पन्न हुन्छ होला हामी आशावादी छौं ।’ खैराको विकासमा यो पक्की पुलले राम्रो सहयोग पुग्ने उनको भनाइ छ । खैराबासी दाखाक्वाडी पुग्न गाडीमा चेरनेटा भएर एक घन्टाको घुमाउरो बाटो हिड्नु परेको समेत उनले बताए । थप्दै उनले भने –‘पुल बने खैराबाट हिडेरै ८÷१० मिनेट मै दाखाक्वाडी पुग्न सकिन्छ ।’ सोही निवासी बिन्जुन बस्नेतले काम सुरु भएको लामो समय हुंदा समेत पुल निर्माण कार्य सम्पन्न नहुंदा खैरावासीले जनतालाई साह्रै समस्या भएको बताए । ‘वृद्धवृद्धा, बालबालिका र विरामी भएको बेला अचानक अस्पताल आउजाउ गर्न  झनै समस्या हुने गरेका छ ।’ स्थानीयवासी बस्नेतले भने–‘नदिवारी पारी पुलले जोड्न नसक्दा सुन्दरबस्ती खैराले धेरै कुराहरु गुमाउनु परेको छ ।’

यो पुल निर्माणको लागि निर्माण कम्पनीसँग १४ करोड ५५ लाख ६३ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । निर्माण कम्पनीलाई १२ करोड ७२ लाख ६३ हजार भुक्तानी भइसकेको सडक डिभिजन कार्यालय प्यूठानका लेखा अधिकृत झग बहादुर दसौदीले बताए । २०७७ बैशाख ३० गते निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा नागार्जुन कन्स्ट्रक्सनले लिएको थियो । पुल निर्माण सम्पन्न भएसंगै त्यहाको सडक निर्माण तथा स्तरउन्नतीका लागि काम गर्नु पर्ने बताए । पुल निर्माणका लागि बजेट विनियोजन भएको तर, छेऊ छाऊ सडक निर्माणका लागि बजेट नभएको उनको भनाइ छ ।

हालसम्म पुलको भौतिक प्रगति ८२ प्रतिशत भएको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख राजिव श्रेष्ठले बताए । ’निर्माण कम्पनीलाई पछिल्लो पटक थपिएको म्याद पनि सकिन थालेको छ,’ श्रेष्ठले भने, ’हामीले ताकेता गरीरहेका छौ । निर्माण कम्पनीले तिब्र रुपमा काम गरेको छैन ।’   

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page