समय : ०८:३६ am | शनिबार , श्रावण १२ गते २०८१

बाग्दुला बजारको सडक अतिक्रमण हटाउदै नगरपालिका

स्वर्गद्वारी अपडेट | पौष २४ गते २०८०

प्यार अलि खान ।जिल्लाकै अति व्यस्त मानिने प्यूठान नगरपालिका वडा नं ८ स्थित उपल्लो बाग्दुला बजारको अतिक्रमण सडक चौडा गर्न प्यूठान नगरपालिकाका जनप्रतिनिधि डोजरनै लिएर पुगेका छन् ।
अतिक्रमण सडक विस्तार गर्न खोज्दा केही स्थानीय तथा नगरपालिकाको टिमबीच विवाद समेत देखा परेको थियो ।अतिक्रमण सडकलाई खुला राखी निर्वाध रुपमा सवारी साधन सञ्चालन गरिने नगर प्रमुख विष्णु योगीले बताए।‘सडक अवरोध गरेर व्यापार गर्न पाइँदैन।’ नगर प्रमुख योगीले भने,- ‘सामाजिक काममा सबैले सहकार्य गर्न अपरिहार्य छ।' बाग्दुला बजार क्षेत्र मात्र नभएर अनेत्र ठाउँमा पनि सडक अतिक्रमण गरेको ठाउँमा हटाउदै जाने नगर प्रमुख योगीको भनाई छ।   

नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने सडकहरुको स्तरवृद्धि तथा विस्तारमा नगरपालिका लागि परेको उपप्रमुख देवेन्द्र ब्रह्माले जानकारी गराए। 'विकासका लागि नगरवासीले साथ दिनपर्छ। हामी हाम्रो जिम्मेवारी पूरा गर्न लागि परेका छौं।' उपप्रमुख ब्रह्माले भने।

सडक क्षेत्रनै ओगटेर स्थानीय व्यवसायीहरुले व्यापार गर्दा समस्या आएको स्थानीय बासु पण्डितले बताए।उनले भने -‘दिनभर बाटो छेकेर ट्रक तथा बसमा लोड अनलोड गरी व्यापार गर्दा बाटोमा सर्वसाधारणलाई हिँड्नै गार्हो भयो।'

एक द्वार प्रणाली लागु गरि बजार क्षेत्रमा रहेका दुबै सडकमा सवारी साधनको सञ्चालनलाई व्यवस्थित गरिने वडा अध्यक्ष पदम बहादुर थापाको भनाई छ।उनले भने -"बाग्दुला बजार देखि बाहाने जाने सवारीसाधन अहिले चलिरहेको सडक हुँदै जाने र बाहाने देखि बाग्दुला आउने सवारी साधन भित्री बजार क्षेत्रको सडक हुँदै आउनेबारे छलफल गरि चाँडै निष्कर्षमा पुग्ने छौ।"

यस सडकमा स्थानीय व्यवसायीहरुले ठूला तथा साना सवारीसाधन दिनभर सडकमै राखी लोड तथा अनलोड गर्दा सडक दिनभर जाम हुँदै आएको स्थानीयहरु बताउछन्।हाम्रो समस्यालाई मध्यनजर राख्दै प्युठान नगरपालिकाले चालेको यस कदम प्रति आफुहरु खुसी भएको उनीहरु बताउछन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page